कर्णाली प्रदेश

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

८ वैशाख, कर्णाली । कर्णालीका १० वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले निर्वाचन कार्यतालिकाअनुसार आज जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र अन्य स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जनाएको छ ।

वीरेन्द्रनगरमा पनि आजदेखि जल तथा मौसम विज्ञान कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत डा राजेन्द्र आचार्य र वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले कार्यालयको शुभारम्भ गरे । मुख्य निर्वाचन अधिकृत आचार्यले मतपत्र वितरण, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अनुशिक्षणलगायतको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै हुने जानकारी दिए। उम्मेदवारको मनोनयन दर्तालगायतका कार्य भने सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयबाट हुनेछन् ।