९ वैशाख, काठमाडौँ । भारतीय नागरिकको नाममा रहेको विश्व कीर्तिमान तोड्दै नेपाली युवा विक्रम खड्काले वृक्षासनमा बसेर गिनिज बुकमा आफ्नो नाम लेखाएका छन् । खड्काले ३ घण्टा ५० मिनेटसम्म वृक्षासनमा बसेर विश्व कीर्तिमान बनाएका हुन ।
यसअघि वृक्षासनको विश्व रेकर्ड भारतीय नागरिक सनत रथको नाममा थियो । १८ जुन २०२० मा बैंगलोरका सनतले १ घण्टा ६ मिनेट ५५.३ सेकेन्डसम्म वृक्षासनमा बसेर गिनिज बुकमा नाम लेखाएका थिए ।
गिनिज बुकले पठाएको प्रमाणपत्र मन्त्रिपरिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्याधिश खिलराज रेग्मीले बिहीबार काठमाडौमा आयोजित एक कार्यक्रममा खड्कालाई औपचारिक रुपमा प्रदान गरिएको थियो ।
वृक्षासनको पुरानो रेकर्ड आफूले तोडेको दाबी गर्दै खड्काले गिनिज बुक अफ वर्ल्ड रेकर्डले प्रमाणपत्र पठाएकोमा खुसी व्यक्त गरे ।
खड्काले यस अघि पनि अन्य कीर्तिमानहरू कायम गरेका छन् ।
वि.स. २०६५ सालमा काठमाडौंको टुँडिखेलमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा लगातार ५ घण्टा शीर्षासन (टाउकोलै टेकेर खुट्टा माथी गरेर गरिने आसन) गरेका थिए । त्यस्तै २०६६ सालमा गोदावरी स्थित मनोक्रान्ति आश्रममा लगातार ४ घण्टा त्राटक बलिरहेको मैनबत्तीलाई आँखा नझिम्क्याई हेर्ने क्रिया गरेका थिए ।





