कर्णाली प्रदेश

कर्णालीका आठ जिल्लाका ६४ पालिकामा सत्तारुढ दलको गठबन्धन

१३ वैशाख, जाजरकोट । कर्णालीमा सत्तारुढ गठबन्धनको ७९ स्थानीय तहमध्ये ६४ मा सहमति भएकोे छ । सुर्खेतका ९ र रुकुम (पश्चिम) ६ स्थानीय तह बाहेक सबैमा गठबन्धनबाट साझा उम्मेदवारी दिइएको हो । सुर्खेत र रुकुम (पश्चिम) मा तालमेल नगरी मनोनयन दर्ता गराइएको र आठ जिल्लामा गठबन्धनको तालमेल भएको छ ।

गठबन्धनभित्रै नेताहरुमा केही असुन्तुष्टी भए पनि सिफारिस गरिएका उम्मेदवारहरुले आफ्ना उम्मेदवारी दर्ता गराइसकेका छन् । गठबन्धनको तालमेल विपरित कार्य गर्नेलाई कडा कारबाहीको चेतावनीसमेत दिइएको छ । हुम्लाका सात स्थानीय तहमध्ये माओवादीले चार स्थानीय तह (नाम्खा, सिमकोट, चखेली र ताँजकोट गाउँपालिका)मा अध्यक्षमा र खार्पुनाथ र सर्केघाटमा उपाध्यक्षमा उम्मेदवारी दिएको छ । नेपाली कांग्रेसका नेताले खार्पूनाथ, सर्केघाट र अदानचुली गाउँपालिकामा अध्यक्ष तथा नाम्खा र सिमकोट गाउँपालिकामा उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।नेपाल कम्युनिष्ट पार्टी(समाजवादी)का नेताले ले चखेंली, अदानचुली, ताँजकोट गाउँपालिकामा उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । हुम्लामा नगर पालिका छैन् ।

जुम्लामा आठ स्थानीय तहमध्ये कांग्रेसले चार, माओवादीले तीन र समाजवादीले एक स्थानीय तहमा प्रमुख पदमा उम्मेदवारी दिएका छन् । तीमध्ये कांग्रेसका तर्फबाट चन्दननाथ नगरपालिका, कनकासुन्दरी गाउँपालिका, सिँजा गाउँपालिका, पातारासी गाउँपालिकामा अध्यक्ष तथा दुई गाउँपालिकामा उपाध्यक्ष पदमा उम्मेदवारी दिइएको छ ।त्यस्तै माओवादी केन्द्रका तर्फबाट गुठीचौर, तातोपानी र तिला गाउँपालिकामा अध्यक्ष पदमा र अन्य पाँच वटा पालिकामा उपप्रमुखका लागि उम्मेदवारी दिइएको छ भने समाजवादीका तर्फबाट हिमा गाउँपालिकामा अध्यक्ष र गुठीचौर गाउँपालिकामा उपाध्यक्षमा उम्मेदवारी परेको छ ।

मुगुका चार पालिकामध्ये कांग्रेसले दुई र माओवादी केन्द्र तथा समाजवादीले एक/एकवटा पालिका पाएका छन् । तीमध्ये मुगुको छाँयानाथ रारा नगरपालिका र मुगुम कार्मारोग गाउँपालिकामा अध्यक्षका साथै अन्य मा दुई गाउँपालिकामा उपाध्यक्ष पदका लागि कांग्रेसका तर्फबाट उम्मेदवारी परेको छ । माओवादी केन्द्रका तर्फबाट खत्याड गाउँपालिका अध्यक्षसहित एक नगरपालिकामा उपप्रमुखामा उम्मेदवारी परेको छ भने समाजवादीका तर्फबाट सोरु गाउँपालिका अध्यक्ष तथा मुगुम कार्मारोग गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी परेको छ ।
सोमबार दिउँसो सार्वजनिक भएको विवरणअनुसार कालीकोटका नौ स्थानीय तहमध्ये माओवादी केन्द्रले पाँचमा प्रमुख र चारमा उपप्रमुख पदमा उम्मेदवारी दिएको छ भने कांग्रेसले दुई प्रमुख तथा तीन उपप्रमुख र समाजवादीले दुई स्थानीय तहमा प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् । डोल्पामा आठ स्थानीय तहमध्ये कांग्रेसले एक पालिकामा प्रमुखमा मात्र उम्मेदवारी दिएको छ । बाँकी एक नगरपालिकासहित चार स्थानीय तहमा समाजवादी र तीन स्थानीय तहको प्रमुखमा माओवादीका तर्फबाट उम्मेदवारी परेको छ । कर्णालीका स्थानीय तहमध्ये धेरै डोल्पामा समाजवादीतर्फबाट उम्मेदवारी परेको देखिन्छ । सल्यानको दश स्थानीय तहमध्ये चारमा कांग्रेस, चारमा माओवादी केन्द्र र दुईमा समाजवादीका तर्फबाट प्रमुखमा उम्मेदवारी परेको छ ।

त्यस्तै गठबन्धनले जाजरकोटका सात स्थानीय तहमध्ये तीनमा कांग्रेस, तीनमा माओवादी र एकमा समाजवादीका तर्फबाट उम्मेदवारी परेको छ भने दैलेखमा ११ स्थानीय तहमध्ये छ मा कांग्रेस, दुईमा माओवादी केन्द्र र तीनमा समाजवादीका तर्फबाट उम्मेदवारी दिइएको कर्णाली प्रदेशको सत्तारुढ गठबन्धनले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।
सुर्खेत र रुकुम (पश्चिम)मा मनोनयन गर्ने अन्तिम समयसम्म र उम्मेदवारी फिर्ता लिने समयसम्म सहमति प्रयास गर्ने निर्णय सत्तारुढ गठबन्धनले गरेको छ । ती निकायमा गठबन्धनका सबै दलले आफ्नै तरिकाबाट सबै पालिकामा मनोनयन दर्ता गरेका हुन् । पालिका भागबन्डाका विषयमा पाँच दिनदेखि जारी गठबन्धन दलहरूबीचको छलफल सकिएको छ ।
यी दुई जिल्लामा १६ गतेसम्म सहमतिको प्रयास जारी राख्ने गरी छलफल टुङ्ग्याइएको हो । उम्मेदवारी दिने अन्तिम दिन भए पनि फिर्ता लिन मिल्ने समय भने वैशाख १६ गतेसम्म तोकिएको छ ।

माओवादीकेन्द्रका सुर्खेत जिल्ला संयोजक जीतबहादुर रानाले अहिले यसबारेमा छलफल नभएको बताए । माओवादीकै एक नेताका अनुसार सुर्खेतमा कांग्रेसको र रूकुम पश्चिममा माओवादीको बलियो पकड भएकै कारण यी दुई जिल्लामा कुरा मिल्न नसकेको हो । माओवादीले सुर्खेतमा चिङ्ग्राड र चौकुने गाउँपालिका तथा रूकुम पश्चिमका सबै पालिकामा आफ्नोतर्फबाट नेतृत्व पाउनुपर्ने जिकिर गरेकामा कांग्रेसले यसमा सहमति जनाउन नसकेको हो ।

प्रदेशका जिल्लामा सहमतिविपरित उम्मेदवारी दिनेलाई कारबाही गर्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ । सहमतिमा पालिकाको भागबण्डा भएका कर्णालीका आठ जिल्लामा गठबन्धनका उम्मेदवारविरुद्ध लाग्ने नेता तथा कार्यकर्तालाई गठबन्धनभित्रका दलहरुले अनुशासनको कारबाही गर्ने भएका हुन् । नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजङग शाहीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसबारेमा गठबन्धनले विज्ञप्तिसमेत जारी गरी जानकारी गराएको छ ।

सहमति अनुसार आठ जिल्लाका पालिकामध्ये नेकपा माओवादी केन्द्रले २५ पालिकामा प्रमुख र २६मा उपप्रमुख लिने भएको छ । कांग्रेसले २५मा प्रमुख र २३मा उपप्रमुख पाएको छ भने समाजवादीले १३ पालिकामा प्रमुख र १६मा उपप्रमुख पाएको छ ।सहमति नभएको रुकुम र सुर्खेतका सन्दर्भमा भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समयसम्म पनि सहमतिको प्रयास जारी राख्ने गठबन्धनले विज्ञप्तिमार्फत जनाएको छ ।