समाचार

आइजिपी बढुवाविरुद्धको सुनुवाइ हेर्दाहेर्दैमा..


२१ वैशाख, काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आइजिपी) बढुवाविरुद्ध दायर भएको रिट निवेदनमाथि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा आज मुद्दाको सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा यही वैशाख २२ गतेलाई राखिएको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले यही वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । वैशाख १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।