समाचार

बूढानलिकण्ठ नगरपालिका–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी


१ जेठ, काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको आज सम्पन्न मतगणनामा स्वतन्त्र उम्मेदवार आकाश धितालले ५१२ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत चमिला भट्टराईले राससलाई जानकारी दिइन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार राजेन्द्र खड्काले ४७४ मत प्राप्त गरे । उक्त वडामा एक स्वतन्त्रसहित पाँच राजनीतिक दलले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।

यस्तै, खुला वडा सदस्य पदमा एमालेका उम्मेदवारद्वय विक्रमराज श्रेष्ठ ६१०, विकास तामाङ लामा ६१४ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै, महिला सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार बालमाया श्रेष्ठले ५५४ र दलित महिला सदस्यमा एमालेकी उम्मेदवार सुशीला रम्तेल ५७९ मत ल्याई विजयी भएका निर्वाचन अधिकृत भट्टराईले बताए । कूल ४८ हजार ३०४ मतदाता रहेको बूढानीलकण्ठ नगरपालिकामा ३४ हजारभन्दा बढी मत खसेको थियो । उक्त नगरपालिकामा १३ वडा रहेका छन् ।