प्रदेश 1

कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी


४ जेठ, झापा । कनकाई नगरपालिका प्रमुखमा पुनः नेकपा एमालेका तर्फबाट राजेन्द्र पोखरेल र उपप्रमुखमा नेपाली कांग्रेसका आशा शिवाकोटी निर्वाचित भएका छन् । पोखरेल विसं २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट समेत पालिकाको नगरप्रमुखमा विजयी भएका थिए ।

पोखरेल कूल आठ हजार ६७३ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटम् प्रतिद्वन्द्वी कांग्रेसका रुद्रप्रसाद चिमिरियाले छ हजार ६६१ मत प्राप्त गरेका छन् । स्वतन्त्रबाट उम्मेदवार बनेका शेरबहादुर थापाले पाँच हजार ९६१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामसुन्दर ओलीले दुई हजार पाँच मत प्राप्त गरेका छन्।

यसैगरी उपप्रमुख शिवाकोटीले १० हजार ७१३ मत प्राप्त गरी विजय बनेका छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)की मञ्जु प्रसाईँले आठ हजार ८७५ मत प्राप्त गरेकी छिन् । उनले प्रसाईँलाई एक हजार ८३८ मत बढी ल्याएर पराजित गरेकी हुन् । मञ्जु यसअघि नगरउपप्रमुख थिए ।

हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट राजेन्द्र लिङ्देन पुनः निर्वाचित भएका छन् । उनले एमालेका डम्बर गिरीलाई एक हजार १९० को मतान्तरले पराजित गर्र्र्दै विजयी बनेका छन् ।

उनले कूल मतको छ हजार ८५६ मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिद्वन्द्वी गिरीले चार हजार ६६६ मत ल्याएका छन् । एमालेका गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष थिए ।

त्यस्तै अध्यक्षका उम्मेदवार बनेका कांग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ र माओवादी केन्द्रका भवानीप्रसाद दङ्गालले एक हजार १४९ मत प्राप्त गरेका छन् ।

पालिकाको उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनाली नै निर्वाचित भएकी छिन् । मैनालीले पाँच हजार ७८ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शान्तादेवी गौतमले चार हजार १०६ मत ल्याएकी छिन् । माओवादी केन्द्रका टीकादेवी राउतले एक हजार ४५३ र कांग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार लखन हेमरमले तीन हजार ७०० मत ल्याएका छन् । राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वडाध्यक्ष र ११ सदस्य जितेको छ ।