साहित्य

कविडाँडा साहित्य समाजद्वारा स्रष्टा सम्मानित


१५ जेठ, चितवन । कविडाँडा साहित्य समाजले साहित्यिक क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । समाजको २०औँ वार्षिकोत्सवको अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा स्रष्टाहरुलाई सम्मान एवं पुरस्कृत गरिएको हो ।

कार्यक्रममा ‘कविडाँडा राष्ट्रिय सुवर्ण–तुलसी काव्य” पुरस्कारबाट पोखराका वरिष्ठ कवि तीर्थ श्रेष्ठ सम्मानित भएका छन् । उनलाई रु ३० हजार १६० सहित सम्मान प्रदान गरिएको हो । ‘कविडाँडा देव–खीना स्मृति’ सम्मान तथा पुरस्कार चितवनका वरिष्ठ साहित्यकार रेशम विरही र मकवानपुर जिल्लाका वरिष्ठ साहित्यकार तुलसी थापालाई संयुक्तरूपमा प्रदान गरिएको छ । यो पुरस्कारको राशि रु १५ हजार १६० छ ।

‘कविडाँडा राष्ट्रिय युवा वाङ्मयी प्रतिभा’ पुरस्कार २०७९ बाट कायाकैरन मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक लेखराम सापकोटा सम्मानित भएका छन् । कायाकैरन दैनिक, कायाकैरन डटकम र सम्पूर्ण किताबका माध्यमबाट नेपाली साहित्य, कला र पठन संस्कृतिको विकासमा योगदान पु¥याएको भन्दै सापकोटालाई रु १५ हजार १६० नगदसहित सम्मान गरिएको हो ।

यसैगरी ‘कविडाँडा अविनाशी कृति’ पुरस्कार २०७८ सालमा प्रकाशित मोक्ष उपन्यासलाई प्रदान गरिएको छ । यो उपन्यासका लेखक सिर्जन अविरललाई रु १५ हजार १६० सहित सम्मान गरिएको हो ।

कार्यक्रममा नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले कविडाँडाले गरेको उत्कृष्ट कार्यको खुलेर प्रशंसा गरे । श्रेष्ठले देशभरि एकेडेमी खोल्नुको औचित्य नरहेको बताए। स्थानीय निकायले होडबाजी गर्नुको सट्टा एकेडेमीको आवश्यकतामा आधारित हुनुपर्नेमा उनको जोड थियो ।

चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनाल, नेपाल प्रहरी शिक्षालय भरतपुरका निमित्त समादेशक प्रहरी उपरीक्षक प्रकाश मल्ल, साहित्यकार गायत्री श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले समाजको उद्देश्य र हालसम्म गरेका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा सम्मानित स्रष्टा परिचय नवराज ढुङ्गाना र सुरेन्द्र अस्तफलले गराएका थिए । गतवर्ष समाजले नेपाल भारत कविता उत्सव सम्पन्न गरेको थियो ।