समाचार

भूमि संरक्षणमा ध्यान दिनुपर्ने


१९ जेठ, काठमाडौँ । सांसद राधा ज्ञवालीले नेपालको भू–भाग र सीमा सुरक्षाका लागि बजेटमा कुनै पनि योजना नभएको विषयमा सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलका विषयमा उनले नेपालको भूभाग, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेत समेटिसकेको भएपनि संरक्षण गर्ने विषयमा ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले बजेटमा धेरै सिँचाइ आयोजना सरकारको प्राथमिकतामा नपरेको र स्थानीय तहको अधिकार क्षेत्रमा समेत केन्द्रले हस्तक्षेप गरेर बजेट छुट्टयाउने काम गरेको बताए ।

सांसद विमला नेपालीले एक परिवार : एक रोजगार, शिक्षालाई सीपसँग सीपलाई रोजगारसँग जोड्नुनपर्ने जरुरी भएको र नेपालको संविधानले जमिन नहुने दलित समुदायलाई जमिन उपलब्ध गराउने भनेको भएपनि त्यो कार्यान्वयन हुन नसकेको बताए । संविधानले आवासबिहिनलाई आवास उपलब्ध गराउने भनिएता पनि त्यो बजेटले समेटन नसकेको उनको भनाइ थियो ।

सांसद दामोदर भण्डारीले वर्तमान सरकारले ल्याएको बजेट पाँच महिनामा खर्च गर्ने आधार नभएको र मुलुकमा खाद्य सङ्कट आउन सक्ने, कृषि रुपान्तरणको प्रभावकारी योजना नभएको बताए । उनले बजेटमा युवा रोजगारमूलक कार्यक्रम नभएको, ठूलो पुर्वाधार नीजि क्षेत्रलाई दिने कुरा गलत भएको र बजेटले युवा, विद्यार्थी, दलितलाई नसमेटी कालोबजारीलाई सहयोग गरेको बताए।

सांसद प्रमिला राईले प्रभावकारी कार्यान्वयन हुन सकेमा बजेट राम्रो भएको र सुर्तीजन्य पदार्थको बारेमा सकेसम्म १०० प्रतिशत कर लगाउन सरकारको ध्यानाकर्षण गराइन्। सांसद नारदमुनि रानााले संविधानले समाजबादोन्नुमख स्वतन्त्र र आत्मनिर्भरमूलक अर्थतन्त्रको व्यवस्था भनिए पनि बजेट चुनावमुखी र वितरणमुखी रहेको बताए।

सांसद पार्वता डिसी चौधरीले बजेट राम्रो आएको र कार्यान्वयन प्रभावकारी हुन जरुरी भएको बताए । सांसद व्रिजेशकुमार गुप्ताले लुम्बिनीको सडक चार लेनको बनाउनुपर्ने सुझाव दिए । बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल जारी छ ।