२० जेठ, विराटनगर । प्रादेशिक पत्रकारिता पुरस्कार–२०७९ बाट आज यहाँ चार पत्रकार पुरस्कृत एवं सम्मानित भएका छन् । पुरस्कृत हुनेमा झापाका पत्रकार लीला बराल, सुनसरी इटहरीका कृष्णविनोद लम्साल, धनकुटाका पत्रकारद्वय स्मीता निरौला र सञ्जय सन्तोषी राई छन् ।
उनीहरुलाई जनही रु एक लाख राशिको पुरस्कार र सम्मानपत्रद्वारा सम्मान गरिएको हो । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राइले पुरस्कार एवं सम्मान प्रदान गर्दै पत्रकारिता समाजका ऐना हो भने ।
सत्ता र शक्त्तिलाई खबरदारी गर्ने पत्रकारिता क्षेत्रको निकै ठूलो योगदान रहेको चर्चा गर्दै मुख्यमन्त्री राईले सूचना, चेतना, शिक्षासँगै न्यायको आवाज उठाउने यो पेशा मर्यादित छ भने ।
उनले पूर्ण लोकतन्त्रको लागि दवाव शक्तिको भूमिका निर्वाह गर्ने पत्रकारिता क्षेत्रको विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्नेछ भने । आलोचनाले स्थान नपाए लोकतन्त्र खुम्चिन सक्ने भन्दै मुख्यमन्त्री राईले आगामी आर्थिक वर्षको लागि सरकारले फरक ढङ्गले बजेट निर्माण गर्ने जानकारी दिए ।
कार्यक्रममा प्रमुख सचिव डा रामप्रसाद घिमिरे, नेपाल पत्रकार महासङ्घ प्रदेश सभापति लीलाबल्लभ घिमिरे, पुरस्कृत पत्रकार सञ्जय सन्तोषी राईले पनि बोलेका थिए ।





