साहित्य

जनताले बुझ्ने भाषामा साहित्य सृजना गर्ने श्यामप्रसाद शर्माको सम्झना

६ असार, काठमाण्डौ । साहित्यकार श्यामप्रसाद शर्माले भाषा, संस्कृति, निबन्ध, समालोचनाजस्ता साहित्यिक विधामा जनताले बुझ्ने सरल भाषामा लेखेका कृतिको महत्व अहिले पनि रहेको बताइएको छ ।

 शर्माको ९४औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘श्यामप्रसाद शर्माको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक विचार गोष्ठीमा शर्माका साहित्यमा प्रगतिशील चेतना रहेको जानकारी दिए । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शर्माकै नेतृत्वमा प्रगतिशील लेखक सङ्घको स्थापना भएको उल्लेख गर्दै सांस्कृतिक विषयमा महत्वपूर्ण कृतिको रचना उनले गरेका सुनाए ।

शर्माका साहित्यिक सृजना छोटा भए पनि महत्वपूर्ण रहेको कुलपति उप्रेतीले बताए । देशलाई अग्रगमनमा लैजान महत्वपूर्ण योगदान गरेका साहित्यकार शर्माको सम्झनामा पहिलोपटक जन्मजयन्ती मनाइएको प्रतिष्ठानले जनाएको छ । शर्मा प्रगतिशील लेखक सङ्घको अध्यक्ष हुँदा उनलाई निजीस्तरबाट दिइएको मुक्ति पुरस्कार लिने कि नलिने भनी कार्य समितिमै छलफल गर्न प्रस्ताव गरेका कुलपति उप्रेतीले सम्झिए । कार्यसमितिले संस्थागत निर्णय नगरेपछि उनले पुरस्कार ग्रहण गरेका थिए ।

 प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले नेपालको लोकतान्त्रिक वामपन्थी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका शर्माले साहित्यमा पनि १०० भन्दा बढी जनताको मन मस्तिष्क रहने कृति रचना गरेका जानकारी गराए । शर्माको समालोचना र स्मृति ग्रन्थ प्रकाशनको आवश्यकता अझै रहेको उनको भनाइ थियो । 

शर्मामा भएको राजनीतिक चेतनाकै कारण उनले तीनपटक जेल जीवन बिताएका थिए । शर्मा चिन्तनसँगै चरित्रमा पनि जोड दिने साहित्यकार थिए । उनको तँ, तिमी र तपाईं निबन्ध सामन्ती सोच राख्नेका लागि शिक्षामूलक रचनाका रूपमा लिइन्छ । कार्यक्रममा सदस्य सचिव उपाध्यायले शर्माले उमेर भएको छैन भनी नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य पद अस्वीकार गर्नु अहिलेका राजनीतिक व्यक्तित्वका लागि शिक्षामूलक रहेको बताए। साहित्यकार शर्माका विषयमा प्रतिष्ठानका पूर्वसदस्य डा अमर गिरीले नेपाली समाजका विभिन्न विषयलाई समेटी शर्माले साहित्य सृजना गरेका उल्लेख गर्दै सरल भएकाले जनताले तत्काल बुझ्ने गरेको बताए । 

 शर्माको संस्कृतिसम्बन्धी दुई चार कुरा पुस्तक हाम्रा लागि पनि महत्वपूर्ण भएको उनले सुनाए । नेपाल सांस्कृतिक विविधता भएको देश एकताको सूत्रमा गाँस्नुपर्छ भन्ने भावना उक्त पुस्तकमा उल्लेख गरिएको जनाइएको छ । शर्माले विभिन्न जातका बीचमा एकतालाई पनि कृतिमा जोड दिएका छन् । कार्यक्रममा प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा मधुसूदन गिरी, साहित्यकार शर्माकी जेठी छोरी सम्झना शर्मा, बाल साहित्यकार शान्तदास मानन्धर, कार्यक्रम संयोजक डा गोपिन्द्र पौडेललगायतले उनले साहित्य एवं नेपालको वामपन्थी राजनीतिमा पु¥याएका योगदानका विषयमा चर्चा गरेका थिए ।