प्रदेश 2

लगातार वर्षाका कारण जोखिमयुक्त बन्दै सडक


१५ असार, महोत्तरी । केही दिन विराएर लगातारजसो पानी झम्केर पर्दैछ । असार मध्यको यो बर्खे मौसममा यहाँका मुख्य सबैजसो सडकको अवस्था बेहाल छ । वर्षाको पानीको उपयुक्त निकास हुन नसक्दा सडक हिलाम्य भएका हुन् । जिल्लाका सबैजसो सडकमा खाल्डाखुल्डी बढ्दै गएर जताततै पोखरीजस्तै आहाल बनेपछि सडक यात्रा अहिले देखादेखि जोखिमपूर्ण बनेको छ ।

बर्दिवास–रामगोपालपुर–जलेश्वर सडकको बर्दिबासस्थित भोलावसन्त चोकदेखि मसनघट्टासम्मको करिब चार किलोमीटर दूरीभित्र सडक धान रोप्न हिल्याइएको खेतजस्तै बनेको छ । बर्खा लागेपछि यो खण्डमा ढल बनाउने, सडक सम्याउने र विस्तार गर्नेभन्दै ठूलाठूला यान्त्रिक उपकरण चल्न थालेपछि पैदल हिँड्न पनि सकस परेको सर्वसाधारण बताउँछन् ।

सडक स्तरोन्नति र ढल निर्माणको जिम्मेवारी पाएका ठेकदारले कामका लागि असजिलो बेला छान्दा सडकमा पैदल हिँडडुल पनि असजिलो बन्दै गएको सो सडक खण्डकै बर्दिबास–१४ का बासिन्दा भरत पोखरेल बताउँछन् ।

बर्खामा यान्त्रिक उपकरण चलाइँदा सडक झन बिग्रेको सर्वसाधारणको भनाइ छ । “बर्खाको पानीले कोमल्याएको माटोमा एस्काभेटर चलाएपछि माटो गिजोलिएर हिलाम्य भएको हो”, बर्दिबास–२ की गृहिणी पवित्रा खड्का भन्छिन्, “यही काम हिउँदमा गरिदएको भए सडकको यो दशा हुने थिएन होला नि !” विकासे कामलाई असार पर्खने बानीले बन्नुभन्दा बिग्रनु बढी भएको खड्काको भनाइ छ ।

जिल्लाको माइस्थान–गौशाला–सम्सी सडकको निगौल–सम्सी खण्ड पनि खाल्डाखुल्डीमा परिणत भएको छ । तीन वर्ष पहिले मात्र कालोपत्र गरिएको यो सडकको बैरियामा सडकमै भैँसी बस्ने ठूलाठूला खाडल छन् । त्यसैगरी सम्सीचोकमा पनि मुख्य सडकमा खाल्डाखुल्डी बनेका छन् । पहिले गुणस्तरीय काम नहुने र सडक भत्कन लाग्दै मर्मत सम्भारमा ध्यान नदिइनुले सडक समस्या बढाएको सम्सीका सामाजिक कार्यकर्ता मोहम्मद इम्तियाज बताउँछन् ।

त्यस्तै बर्दिबास–रौजा–जलेश्वर र सम्सी–रामगोपालपुर–लोहारपट्टी–जनकपुरसहितका मुख्य सडक सामान्य वर्षामै ठाउँठाउँ भत्किएर सवारी साधन चल्न नसक्ने भएका छन् । खाल्डैखाल्डा बढेका र सबैमा फोहर पानी जमेपछि यी सडकमा साइकल, मोटरसाइकलजस्ता साना दुई पाङ्ग्रे साधन चलाउन पनि अप्ठ्यारो भएको छ । यीमध्ये बर्दिबास–रामगोपालपुर–जलेश्वर सडक सडक सुधार आयोजना कार्यालय बर्दिबासअन्तर्गत र अन्य हुलाकी राजमार्ग कार्यालय जनकपुरधामअन्तर्गत स्तरोन्नतिको काम थालिएका सडक हुन् । यद्यपि काम थालिएको तीन/चार वर्ष नाघ्दा पनि परिणाममुखि नतिजा भने नदेखिँदा सर्वसाधारणमा सडक बन्ने आश मरेको छ ।

यीबाहेक पूर्व–पश्चिम राजमार्गको अवस्था पनि अत्यन्त नाजूक छ । पूर्वमा रातु नदीको पुलदेखि पश्चिममा बाँके नदीको पुलसम्मको महोत्तरीमा पर्ने राजमार्ग क्षेत्रमा सयौँ सङ्ख्याका खाल्डा बनेका छन् । सडक भत्कन थालेसँगै तत्काल मर्मतसम्भारका काम नगरिँदा सडकको दुरावस्था बढेको हो । यो मुख्य राजमार्गको रेखदेख आफ्नो कार्यक्षेत्रभरि सडक डिभिजन कार्यालय कार्यालय मुजेलिया जनकपुरधामले गर्दै आएको छ ।

राजमार्गका यी असङ्ख्य खाल्डाखुल्डीले दुर्घटना जोखिम निकै बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब निरीक्षक होमबहादुर भित्रीकोटी बताउँछन् । राजमार्गमा खाल्डाखुल्डीले बढाएको दुर्घटना जोखिम टार्न ट्राफिक प्रहरीले बजारचोक क्षेत्रमा खाल्डा बनेका ठाउँमा ‘ट्राफिक कोण’ बनाएको छ । दिनहुँ खाल्डा बढ्दै जाँदा ‘ट्राफिक कोण’ पनि कति ठाउँ राख्ने भन्ने समस्या बढेको ट्राफिक प्रहरीको गुनासो छ ।

राजमार्गका पुलहरुको अवस्था अत्यन्त नाजुक बन्दै गएको छ । पूर्वमा धनुषासँगको साँधेको रातुपुलदेखि पश्चिममा सर्लाहीसँगको सीमा बाँके नदीको पुलबीचमा सानाठूला गरी १५/१६ पुल छन् । सबैजसो पुलमा कालोपत्र उधिनिएर खाल्डाखुल्डी बढेका छन् । रातु, रातुछहरा, भब्सी, अटाबे, जङ्घा, गणन्ता, ढुङ्ग्रे, टुटेश्वर, ढोलनखोला, मरहा, खयरमारा र बाँके नदीलगायतका पुल जीर्ण भएका छन् । पुलको कालोपत्र उप्केर ठाउँठाउँमा भ्वाङ् परेका छन् । यीमध्ये जङ्घामा चार वर्ष पहिले पुलको मर्मतसम्भार र रातुमा तीन वर्ष पहिलेमात्र नयाँ पुल प्रयोगमा आएको हो ।

अहिले अरु पुलजस्तै यिनमा पनि कालोपत्र उप्किन थालेको छ । रातुको नयाँ पुल त प्रयोगमा आएलगत्तै भ्वाङ् पर्न थालेपछि कैयन पटक टालटुल पारिएको छ । नयाँ पुल निर्माण भएर प्रयोगमा आएको केही समयभित्रै खाल्डाखुल्डी बढेपछि निर्माणचरणमै कमसल सामग्री प्रयोग गरिएको यस भेगका सर्वसाधारणको गुनासो छ ।

यसै खण्डको भब्सीमा भने भर्खर नयाँ पुल सञ्चालनमा आएको छ । पूूर्व–पश्चिम राजमार्ग र अन्य हुलाकी मार्गमा यहाँका स्थानीय तहले काम छुने गरेका छैनन् । यी सबै सडकको मर्मतसम्भार सम्बन्धित फरक–फरक कार्यालयको जिम्मेवारीभित्र रहेको हुँदा सम्बद्ध कार्यालयलाइ्र्र घच्घच्याई रहिएको यस भेगका जनप्रतिनिधिको भनाइ छ ।

यसैबीच डिभिजन सडक कार्यालय मुजेलियाले आफ्नो कार्यक्षेत्रका सबै सडकको निर्माण र मर्मतसम्भारको काम नियमित भइरहेको जनाएको छ । मर्मत गरिनुपर्ने ठाउँमा मौसमको प्रतिकूलताले केही पर्खन परे पनि अनुकूल समय हुनासाथ काम गरिँदै आएको डिभिजन प्रमुख रामटहल यादव बताउँछन् । कामका लागि उपयुक्त मौसम पर्खदा कहिलेकाँही समय अघिपछि हुने गरेको भने यादवको स्वीकारोक्ति छ ।

यसैगरी बर्दिबास–रामगोपालपुर–जलेश्वर सडकको बर्दिबास– मसनघट्टा खण्डको रेखदेख गरी रहेको सडक सुधार कार्यालय बर्दिबासले हिउँददेखि नै निरन्तर गरी रहेको काममा कतैकतै काम गर्दै जाँदा बर्खा लागेको जनाएको छ । त्यस्तै हुलाकी राजमार्ग कार्यालय जनकपुरधामले बर्खा रोकिएपछि खाल्डाखुल्डी पुर्ने र मर्मतसम्भारका काम अघि बढ्ने जनाएको छ ।