साहित्य

साहित्यकार दाहालका तिम्ल्याहा कृतिको विमोचन

१९ असार, झापा । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य डा देवी नेपालले सतासीधाम साहित्य सङ्गमले आयोजना गरेको कार्यक्रममा साहित्यकार उमानाथ दाहालका तिम्ल्याहा कृतिको विमोचन गरेका छन् ।

शिवसताक्षी नगरपालिका–९ दुधेमा शनिबार आयोजित कार्यक्रममा सार्वजानिक भएकका कृतिमा बालगीति कविता सङ्ग्रह ‘बाल संसार’ राष्ट्रिय गीत सङ्ग्रह ‘हाम्रो टोपी’ र कविता सङ्ग्रह ‘स्वानुभूति’ रहेका छन् । यसअघि दाहालको कथा सङ्ग्रह ‘दश कथा’ बजारमा आएको थियो । शिक्षण पेशाबाट सेवा निवृत्त दाहाल साहित्य र समाजसेवामा पछिल्ला दिनमा सक्रिय छन् । बालगीति कविता सङ्ग्रहमा ९१कविता छन् । सबै कविता बाल लयमा गाउन सकिने लेकखले बताएका छन् ।

यस्तै कविता सङ्ग्रहमा ५० कविता समेटिएका छन् । उक्त सङ्ग्रहका समीक्षक साहित्यकार दिनानाथ सुवेदीले झापाली कविलाई स्वानुभूतिभित्रका कविताले लामो समयदेखिको कविताको प्यास मेट्न सक्ने बताए ।

जिल्लाभरका साहित्यकार सहभागी कार्यक्रममा गीतकार हस्त परियार, यदुनाथ दाहालले बाल गीतिसङ्ग्रहको पुतलीको बिहे र राष्ट्रिय गीत सङ्ग्रहको नेपालको माटो गाएका थिए ।