कृषि

तरकारी जोन कार्यक्रमबाट नवलपुरका किसान लाभान्वित

२७ असार, कावासोती । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपरासीको नवलपुरपूर्वमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका किसान लाभान्वित भएका छन् । नवलपुरका तीन स्थानीय तहका १६ वटा वडालाई समेटी उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ । कावासोती नगरपालिका–४, ९, १० १२, १५ , १६ र १७ , मध्यविन्दु नगरपालिका–१, २, ३, ६, ९ र हुप्सेकोट गाउँपालिका– १, २ ,३ ४ वटा वडालाई समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रम आर्थिक वर्ष २०७६/७७ देखि सुरु भएको हो । परियोजना सुरु हुनुपूर्व यी क्षेत्रमा तरकारी खेती ५१२ हेक्टर जमिनमा गरिने गरिएकामा हाल क्षेत्रफल विस्तार भएर ६६० हेक्टर पुगेको छ । तीन स्थानीय तहका ९९ समूह, छ सहकारी र ५२ उद्यमी गरेर १५७ तरकारी जोनमा आवद्ध छन् भने दुई हजार ३५५ घरधुरी सम्लग्न छन् । नवलपुर कृषिमा अब्बल मानिन्छ । यहाँ व्यावसायिकरूपले तरकारी खेती गर्ने किसानको सङ्ख्या बाक्लै छ । परियोजना सुरु हुनु अघि नै धेरै किसान तरकारी खेतीमा लागेकामा परियोजना लागू भएपछि किसान थप हौसिएका छन् । धेरै नयाँ किसानसमेत तरकारी खेतीमा आकर्षित भएका छन् । परियोजनाबाट प्राप्त सहयोग र परामर्शले तरकारी खेती गर्ने किसानलाई ठूलो राहत मिलेको छ ।

जोनमा आबद्ध हुप्सेकोट १ जुकेपानीको लेकबेँसी किसान समूहका किसान शङ्कर थापाले उक्त परियोजना लागू भएपछि मलचिङ, स्प्रे टङ्की, जोख्ने काँटालगायत सामग्री पाउदा किसान निकै उत्साहित भएको बताए । “परियोजनाबारे जानकारी नहुँदा पालिकामा मात्रै निर्भर रहनुपरेको र पालिकाबाट सानो सहयोग मत्र हुने गरेकामा परियोजनामा आवद्ध भएपछि किसानलाई आवश्यक सामग्री अनुदानमा पाउँदा लागत घटेको छ,” उनले जोड दिए, “परियोजनाले विभिन्न सहयोग गरिरहेको छ, प्राविधिक ज्ञानसमेत प्रदान गर्ने गरेको छ, यसले धेरै सहज बनाउनाका साथै पेशागत बनाउन उत्पे्ररित पनि गरेको छ ।”

जुकेपानीकै सुनौलो महिला किसान समूहकी अध्यक्ष कृष्णमाया राना मगरले तरकारी जोन कार्यक्रमबाट किसानलाई धेरै कुरामा सहज भएको बताए । विशेष गरेर कृषि सामग्रीमा ५० प्रतिशत अनुदान कार्यक्रमले किसान बढी लाभान्वित भएको उनको भनाइ थियो। निर्वाहमुखी खेती गरिँदै आएकामा अहिले व्यावसायिक खेतीतर्फ किसान आकर्षित भएको उनको भनाइ थियो । हुप्सेकोटको जुकेपानी क्षेत्रमा अधिकांश किसान काँक्राखेती गर्छन् । जुकेपानीबाट मात्रै एकै याममा रु १० करोड बराबरको काँक्रा बिक्री गरिएको छ । त्यसबाहेक गोलभेडा, आलु, बोडी, रामतोरिया, करेलालगायत खेती गर्ने गरिएको छ ।

यस्तै कावासोती १७ का किसान जोगबहादुर महतोले पनि परियोजना किसानका लागि निकै फलदायी भएको बताए । परियोजनाबाट प्राप्त बीउबिजन राम्रो हुने भएकाले उत्पादन पनि राम्रो भएको र अनुदानमा सामग्री पाउँदा किसानलाई धेरै राहत मिलेको उनको भनाइ थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई नवलपरासी पूर्वको कार्यालयका कर्मचारी किसान समस्या समाधान गर्न लागिपरिरहेका छन् ।
कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले परियोजना लागू भएका तीन पालिकाका १६ वटा वडामा तरकारी जोनअन्तर्गत कार्यालयले गर्ने सहयोगमा क्षेत्र विस्तारका लागि बीउबिजन उपलब्ध गराउनाका साथै उत्पादन सामग्रीमा ५० प्रतिशत र सिँचाइमा ८५ प्रतिशतसम्म अनुदान दिइएको जानकारी दिए । तरकारी खेतीले छोटो समयमा उत्पादन दिने र आम्दानी गर्न सकिने पेशा भएका कारण अहिले युवासमेत तरकारी खेतीतर्फ आकर्षित भएका र कतिपय वैदेशिक रोजगारीमा जाने युवालाई गाउँमै रोक्न सफल भएकोसमेत उनले बताए ।

उक्त परियोजनाअन्तर्गत जिल्लामा विशेष गरेर काँक्रा र गोलभेडा खेतीलाई प्राथमिकता दिइएको छ । त्यसबाहेक आलु, बोडी, रामतोरिया करेला, घिरौँला, खुर्सानीलगायत तरकारी खेती यहाँ गरिन्छ । परियोजना नहुँदा किसानले उत्पादन सामग्री सबै आफ्नै खर्चमा किन्नुपर्दा लागत बढी लाग्ने गरेको थियो । अहिले अनुदानमा सामग्री पाएपछि भने उत्पादन लागत घट्दा नाफा बढी भएको सम्बद्ध किसानले बताए।