साहित्य

आदिकवि भानुभक्तको २०९ औँ जन्मजयन्तीका अवसरमा शान्ति काव्य प्रवाह

३० असार, काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीका अवसरमा आयोजित शान्ति काव्य प्रवाहमा कवि एवं कवयित्रीले समसामयिक विषयमा रचना पाठ गरेका छन् ।

मानव अधिकार तथा शान्ति समाजद्वारा सञ्चालित मासिक शान्ति काव्य प्रवाहको ८९ औँ कार्यक्रम आज राजाधानीमा सम्पन्न भएको हो । काव्य प्रवाहमा कविहरुले आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीका सन्दर्भमा श्रद्धाञ्जलिसहित कवितासमेत वाचन गरेका थिए । कविहरुले कवितामार्फत विद्यमान दूरावस्थाप्रति आक्रोश व्यक्त गरे ।

‘देशै दाउ लगाउँदै सब लुटी डुक्रेर नाचेपछि
उम्रेलान् कसरी नवीन विरुवा संस्कार मासेपछि ।
केही सार हुँदैनभित्र यिनले आदर्श बोल्दा पनि
बोल्दैनन् हनुमानहरु किन हरे अस्तित्व पोल्दा पनि ।।’

कवि प्रा डा जीवन अधिकारीले प्रस्तुत गर्नुभएको ‘किन ?’ शीर्षकको कविताको अंश हो यो । काव्य प्रवाहमा कविहरु गोविन्दप्रसाद घिमिरे वेदमणि, रत्ननिधि रेग्मी, बाबुराम लामिछाने, दुर्गाकिरण तिवारी, जसध्वज गुरुङ, विमला दाहाल, प्रिती कौर, रश्मी रिमाल, उर्मिला पन्त पाण्डेय, कुसुम शर्मा, जनार्दन अधिकारी धड्कन, त्रिभुवनचन्द्र वाग्ले,  रवीन्द्र आशिष शैली,  रुद्र अधिकारी, भुवन शिवाकोटी चौघरे, मुकुन्द न्यौपाने, कृष्ण कँडेल, कृष्ण पहाडीसहित १९ जनाले कविता वाचन गरेका थिए ।

कार्यक्रममा सहभागी कविहरुलाई शान्ति समाजद्वारा हालै प्रकाशित कविता संग्रह ‘जलमा हलचल सूक्ष्मको’ प्रदान गरिएको थियो । कार्यक्रममा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनीले स्रष्टाहरुको सम्मान हुन नसके समाज समृद्ध नहुने भन्दै साहित्य आराधना र स्रष्टा सम्मान शान्ति समाजको निरन्तर अभियान भएको बताए ।

 सो अवसरमा समाजका महासचिव रामकृष्ण बराल, शान्ति समाज काठमाडौं शाखाका सभापति भगवान पुडासैनीलगायतले मासिकरूपमा शान्ति काव्य प्रवाहलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।