साहित्य

‘न्यायको पहुँचमा दलित ?’ सार्वजनिक

१९ साउन, काठमाण्डौ । न्यायको पहुँचमा दलित ?’ नामक पुस्तक सार्वजनिक गरिएको छ । जागरण मिडिया सेन्टर (जेएमसी) ले प्रकाशन गरेको सो पुस्तक प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले आज आयोजित कार्यक्रममा सार्वजनिक गरेका छन् । अनुसन्धानमा आधारित उक्त पुस्तकमा दलित समुदायको मानवअधिकार उल्लङ्घन र न्यायका लागि सङ्घर्षमा आधारित छ सभापति पोखरेलले संवैधानिक र कानुनी रुपमा सुनिश्चित् अधिकार व्यवहारिक रुपमै कार्यान्वयन गर्दै थप अधिकार प्राप्त गर्न दलित समुदायले एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिए ।

सङ्घीय संसद्, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति सभापति निरादेवी जैरुले नीति निर्माण तहमा दलित समुदायको समान सहभागिता हुनुपर्नेमा जोड दिए । राष्ट्रिय दलित आयोयका अध्यक्ष देवराज विश्वकर्माले “जातीय हिंसा तथा उत्पीडन मानवता विरुद्धको अपराध हो” भने । देशभरका १२ वटा घटनालाई समावेश गरिएको सो पुस्तकमा दलित तथा सीमान्तकृत समुदायको मानवअधिकार उल्लङ्घनका घटना, घटनाको प्रकृति, न्यायको पहुँचको अवस्था, सङ्घर्ष र प्रक्रियासम्बन्धी विषयवस्तु समावेश गरिएको आयोजक संस्थाका अध्यक्ष कमला विश्वकर्माले जानकारी दिए ।

लेखक जेवी विश्वकर्माको सहयोगमा तयार गरिएको उक्त पुस्तकमा खासगरी अन्तरजातीय विवाहका घटना र पानी छोएको निहुँमा दलित समुदायमाथि भएको हत्या र कुटपीटलगायत घटना समोवश छ । सो पुस्तक भीमबहादुर विक, विरु नेपाली र कृष्ण दर्नाले सम्पादन गरेका हुन्। जेएमसी सन् २००० मा दलित समुदायका सक्रिय युवा सञ्चारकर्मीको पालामा स्थापना गरिएको गैरसरकारी संस्था हो । सो संस्थाले दलित अधिकार सुनिश्चितताका लागि समानता, मानवअधिकार, लोकतन्त्र, समावेशीकरण, सामाजिक तथा वातावरणीय न्याय, दिगो विकास र व्यवस्थापनका लागि सञ्चारमार्फत वकालत गर्दै आइरहेको छ ।