गण्डकी प्रदेश

परिवारका सबै सदस्य अपाङ्गता परिचयपत्रको भरमा

३ भदौ, गलकोट । धेरै पढ्ने र जागिर खाने सपना बोकेकी बागलुङ नगरपालिका–११ रायडाँडाकी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो । आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपाङ्गता भएपछि छ वर्षको उमेरयता सापकोटाका दिन निकै कष्टकर रहे ।

पारिवारीक बोझ र आर्थिक सङ्कटका कारण उनको बाँकी जीवन मेलापात र परिवारको लालनपालनमै बित्यो । उनको थाप्लोमा आमा, बुवा र दुई भाइको जिम्मेवारी छ । सापकोटाको पाँच जनाको परिवारमध्ये उनीमात्रै सपाङ्ग हुन् । उनीबाहेक बावु, आमा र दुई भाइ जन्मजात अपाङ्ग छन् । आमालाई क्यान्सर रोगसमेत छ । लालनपालन सबै २३ वर्षीया दुर्गाको काँधमा छ ।

दुर्गाका बुवा जगन्नाथ बोल्न र सुन्नसमेत सक्नुहुन्न । आमा सीता, भाइ प्रेम र प्रदीपको खुट्टा चल्दैन । “सात वर्षको उमेरदेखि मेलापातमै बितेको छ, आफ्नो एक टुक्रा जमिन छैन, अर्काको जग्गा अधिया कमाएर परिवार पाल्दै आएकी छु, आमाको दुवै खुट्टा बाङ्गो छ, पाठेघरको क्यान्सर छ । आर्थिक अभावले उपचार गर्न सकिएको छैन”, उनले भने, “भाइलाई घरमा पाल्न नसक्दा पोखरास्थित वेदआश्रममा पठाएकी छु ।”

बुबा बाहेक सबैलाई उपचारका लागि पोखरा र भरतपुर लगेको दुर्गाले सुनाए । गत साउन २९ गते सबैजनाको अपाङ्गता परिचयपत्र बनाएको उनले बताए । “सम्पत्तिका नाममा खोला छेउमै रहेको घर छ”, उनले भने । अपाङ्गता परिचयपत्रका आधारमा राज्यले दिने आर्थिक सहायताले औषधोपचार गर्दै आएको दुर्गााको भनाइ छ । आमा सीताले ‘क’ वर्गको तथा अन्य तीन जनाले ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र पाएका छन् । ‘क’ वर्गको अपाङ्गता परिचयपत्र भएकालाई मासिक रु चार हजार र ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएकालाई मासिक रु दुई हजार प्राप्त हुन्छ ।