गण्डकी प्रदेश

आगलागीबाट रु तीन लाखको क्षति

३ भाद्र, तनहुँ । व्यास नगरपालिका–२ भोर्लेटार चोकस्थित अम्बिका पन्थका घरमा गए राति आगलागी हुँदा करिब रु तीन लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको छ । विद्युत् सर्ट हुन गई आगलागी हुँदा पसलमा रहेका तरकारी र फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको हो ।

व्यास नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, स्थानीयवासीको सक्रिय सहभागितामा आगोलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । रातका समयमा आगलागी भए पनि जनशक्ति समयमा जुट्दा अन्य क्षति हुनबाट जोगिएको उनले बताए ।