साहित्य

साहित्यकार विकल्पलाई ‘शक्ति पुरस्कार’

४ भाद्र,बागलुङ । रणस्मृति पुरस्कार संस्था बागलुङले वि.सं २०७८ को ‘शक्ति पुरस्कार’ पर्वतका साहित्यकार इन्द्रकुमार ‘विकल्प’लाई प्रदान गरेको छ ।

रु आठ हजार राशिको उक्त पुरस्कार शुक्रबार यहाँ आयोजित संस्थाको ३० औँ वार्षिकोत्सव समारोहमा साहित्यकार विकल्पलाई समर्पण गरिएको हो । नेपाली भाषा, साहित्यको उन्नयनमा पु¥याएको योगदानबापत उनलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष काजी रोशनले बताए । समारोहमा साहित्यकार विकल्पले पुरस्कारले सिर्जनाकर्ममा अझ सक्रिय हुन उत्प्रेरणा थपेको उल्लेख गरे ।

पर्वत साहित्य सङ्गमका संस्थापक अध्यक्षसमेत रहेका विकल्पका कविता सङ्ग्रह ‘सम्झनाका डोबहरु’, मुक्तक सङ्ग्रह ‘भुल्काहरु’, लघुकथा सङ्ग्रह ‘सर्वदलीय घर’, गजल सङ्ग्रह ‘लालीगुराँस फूल्ने मन’लगायत कृति प्रकाशित छन् । उनले साहित्यिक पत्रिका ‘कालीको सुसेली’को सम्पादन पनि गर्दै आएका छन् । यसअघि सो पुरस्कारबाट पोखराका साहित्यकार तीर्थ श्रेष्ठ, तनहुँका अनिल श्रेष्ठ, भैरहवाका बालकृष्ण भट्टराई र स्याङ्जाका विश्वप्रेम अधिकारी पुरस्कृत भइसकेका छन् ।

वि.सं २०५० मा स्थानीय समाजसेवी शक्तिबहादुर खड्काले बुबा रणबहादुरको स्मृतिमा उक्त पुरस्कार संस्था स्थापना गरेका थिए । संस्थाले वि.सं २०७४ देखि साहित्यतर्फ पुरस्कार दिन थालेको हो ।

सोही समारोहमा बालमन्दिर आधारभूत र रुद्रेपिपल माध्यमिक विद्यालयका उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई समेत पुरस्कृत गरिएको संस्थाले जनाएको छ । पुरस्कार पाउनेमा बालमन्दिर आविमा कक्षा ५ मा पढ्ने अमृत परियार, अस्मिता आले र रुद्रेपिपल मावि कक्षा ८ मा अध्ययनरत नन्दनी शाह, किस्मत सुवेदी र नारायण पौडेल छन् । वि.सं २०५० मा स्थापित उक्त संस्थाले बर्सेनि साहित्यकर्मी र विद्यार्थीलाई पुरस्कृत गर्दै आएको छ ।