साहित्य

लघुकथा पुरस्कार बनेपालीलाई

५ भाद्र, भक्तपुर । लघुकथा समाज नेपालले यसवर्षको ‘धनमान लघुकथा पुरस्कार’बाट लघु कथाकार अगिब बनेपालीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । समाजले भक्तपुरमा आयोजना गरेको धनमान लघुकथा पुरस्कार वितरण कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले लघुकथाकार बनेपालीलाई नगद रु १५ हजारसहित सम्मान गरे ।

कर्माचार्यले आफूलाई साहित्य रचनाका त्यति लगाब नभए पनि पठनमा भने धेरै रुची भएको बताए । कथाकार बनेपालीले पुरस्कारले नयाँ कथा लेखनमा थप प्रेरणा मिलेको बताए । कार्यक्रममा ‘धनमान श्रेष्ठ व्यक्ति एक, आयाम अनेक’ कृतिमाथिसमेत समीक्षा गर्दै डा कुमार कोइरालाले पुस्तकमा धनमान श्रेष्ठ व्यक्ति एक भए पनि उनलाई धेरै पाटोबाट चिन्न सकिने बताए ।

समाजसेवी कृष्णेश्वरी हाडाले श्रेष्ठको पुस्तक पढ्दा उनलाई साहित्यकार र स्वास्थ्यकर्मी मात्रै नभई सामाजिक संस्थाको अभियन्ता पनि भन्न मिल्ने बताए । पुरस्कारका संस्थापक लेखक धनमान श्रेष्ठले आफ्नै नाममा स्थापना गरेको धनमान लघुकथा पुरस्कार भक्तपुरकै कथाकारले पाएकोमा खुसी व्यक्त गरे ।