पर्यटन/संस्कृति

चौठचन्द्र पर्व लक्षित माटोको भाँडाको कारोबारमा वृद्धि

१३ भाद्र, इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–२ की सेवकीदेवी पण्डीतले चौठचन्द्र पर्वलाई लक्षित गरेर माटोको भाँडा बिक्री गरे ।

विगत वर्षमा कोरोना महामारीका कारण थोरै मात्रामा चौठचन्द्र पर्वका बेलामा भाँडा बिक्री हुँदै आएको तर यस वर्ष त्यसमा वृद्धि भएको सेवकीको भनाइ छ । उनले अन्य दिनको तुलनामा चौठचन्द्र(चौरचन) पर्वमा बढी माटोको भाँडाको बिक्री हुने बताए । 

उनकै कुरालाई जोड दिन्छन् इनरुवा–१ का उपेन्द्र पण्डित । उनले पनि सेवकीको जस्तै अन्य दिनको तुलनामा चौठचन्द्र पर्वमा माटोको भाँडाको बिक्री बढी गरेको बताए ।

विगत तीन वर्षदेखि कोरोना महमारीका कारण मानिसहरुले कमै मात्रामा चौठचन्द्र पर्व मनाए । विगतमा हाट बजार लाग्न नदिएका कारण कमै मात्रामा यो पर्वमा माटोको भाँडा बिक्री भयो । यस पटक कोराना महामारीमा कमी र हाटबजार खुल्ला रूपमा लागेकाले माटोको भाँडाको कोरोबारमा वृद्धि भएको स्थानीय व्यापारीले बताएका छन् । 

सुनसरीसहित तराई मधेश क्षेत्रमा मनाउने यो पर्वको पूर्वसन्ध्यामा अहिले माटोको भाँडा बिक्री गर्ने क्रम बढेको छ । वर्षभरि माटोका भाँडा बेच्न नसकेका कुम्भकार समुदायका मानिसहरु चौठचन्द्रलाई माटोका भाँडा बेच्ने अवसरका रूपमा लिने गरेको स्थानीय व्यापारी फुलचन पण्डितले बताए । यो पर्वमा माटोको भाँडा आवश्यक पर्छ । त्यसैले सुनसरी जिल्लासहित तराई मधेश क्षेत्रमा माटोको भाँडाको कारोबार बढेको र यसको मूल्यसमेत बढेको उपभोक्ता नविता झाले बताए ।

देशभरि नै मैथिल समुदायले मङ्गलबार मनाउने चौठचन्द्र पर्वका लागि हटिया तथा बजारमा छाछ, छाछी, घैला, दियो, लाबैनलगायतका माटोका भाँडाकोे किनबेच गर्ने गर्छन् । सुनसरीमा मात्रै थारु, मधेशी, उराँव, जनजाति लगायतका ८० हजारभन्दा बढी परिवारले चौठिचन्द पर्व मनाउँदै आएका छन । आफूहरूको पेसासमेत सङ्कटमा परेको स्थानीय ज्ञानदेव पण्डितको भनाइ छ ।

आफूहरुको पुख्र्यौली पेशा माटोको भाँडा बनाउने भए पनि माटो, दाउराको अभाव, सरकारको उदासीनताका कारण पेसा नै सङकटमा परेको उनीहरुको भनाइ छ । त्यसैले कुम्भकारहरुको पेशालाई संरक्षण गर्नका लागि सरकारको पनि ध्यान जान जरुरी रहेको बताइएको छ । 

त्यसैगरी यो पर्वका बेलामा अन्य पर्व लक्षित सामग्रीको समेत व्यवसाय बढेको छ । पर्वका बेलामा आवश्यक पर्ने स्याउ, नरिवल, भोगटे, केरालगायतको फलफुलको कारोबार बढेको स्थानीय व्यापारी बताउँछन् ।