कृषि

तरकारीले बनायो आत्मनिर्भर

१९ भाद्र, चौतरा । सिन्धुपाल्चोकमा स्थानीय कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको बलेफी, सुनकोशी, मेलम्ची क्षेत्रमा किसानले मनै लोभ्याउने व्यावसायिक तरकारी खेती गरेका हुन् ।

लटरम्म फलेको खुर्सानी, गोलभेँडा, घिरौला, बन्दा, करेला, धनिया, काँक्रो, सिमी जस्ता तरकारी लहलहाउँदो छ । टनेल विधिबाट तरकारी खेती गर्दा मौसमी र बेमौसमी तरकारी उत्पादन दोब्बर हुने भएपछि किसान यसतर्फ आकर्षित भएका छन् । पहिले खुल्ला स्थानमा तरकारी फलाउन नसकेका कृषक टनेलमा गरिएको खेतीले मनग्य उत्पादन गरिरहेका छन् ।

यहाँका कृषकले पाखाबारीमा मकै, गहुँ, जौ, कोदो, धान खेतीको साटो मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने गरेका छन् । अन्नबाली छाडेर व्यावसायिक तरकारी खेती गर्न थालेका किसान पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मानसिकतालाई चुनौती दिँदै घरमै बसी तरकारी खेतीबाट आम्दानी हुन थालेको बलेफीका कृषक रोजन तामाङले बताए । 

बलेफीकै कृषक सङ्गीता तामाङ परम्परागत तरिकाले भन्दा नयाँ विधिबाट गरिएको खेतीले किसानलाई फाइदा दिएको बताउछन्। लागत घटाउन, उत्पादन बढाउन र रोग कीराको समस्याबाट बच्न टनेल भित्र हाइटेक प्रविधि किसानले प्रयोग गर्न थालेका छन् । स्थायी संरचनाको प्लास्टिक टनेल बनाएर बिरुवाको जरा–जरामा आवश्यकताअनुसार सिँचाइ हुने थोपा सिँचाइ प्रविधि जडान गरिएको छ ।

हावा र प्रकाश छिर्ने पारदर्शी प्लास्टिकको टनेल बनाइएको छ । बिरुवाको जरा जरामा पाइपमार्फत बिरुवालाई आवश्यक पर्ने पानी र खाद्य तत्व आपूर्ति गराइन्छ । सुधारिएको गोठ निमार्णले बस्तु भाउको मूत्र पनि सदुपयोग हुने गरेको सुनकोसी–६ का कृषक प्रदीप भण्डारीले बताए ।

उत्पादन भएको तरकारी बिक्रीका लागि समस्या नभएको मेलम्ची नगरपालिका–९ ज्यामिरेका तरकारी कृषक वासुदेव कटुवालले बताए । तरकारी बेचेर एक सिजनमा करिब रु एक लाखदेखि डेढलाख आम्दानी हुने गरेको कटुवालले  बताए । 

जापानको परराष्ट्र मन्त्रालयको सहयोगमा पिस विन्ड्स जापानमार्फत समृद्धिका लागि यथायोग्य कार्यसस्था नेपालअन्र्तगत खानेपानी पहुँच तथा कृषि आय सुधार आयोजनाले मेलम्ची–९, सुनकोसी गाउँपालिका–६, बलेफी गाँउपालिका ४ र ६ का दुई सय ७७ घरधुरीलाई कृषक समूहमा आबद्ध गराएर प्रविधिसहित व्यावसायिक तरकारी खेतीमा जोडिएको छ । उनीहरुले उत्पादन गरेको तरकारी सङ्कलन केन्द्रमा जम्मा हुन्छ । किसानले बजारमा चलेको मूल्य पाउँछन् भने तरकारी मुख्य बजारमा बिक्री हुने गरेको छ । स्थानीय तहले कृषिमा सामग्री वितरणसँगै प्रविधि पनि सिकाउँदा थप उपलब्धि देखिने कृषि विज्ञ डा रामचन्द्र भुसालले बताए ।