कर्णाली प्रदेश

माटो प्रयोग गरेर पर्खाल निर्माण

१ असोज, गमगढी । नेपालको सबैभन्दा ठूलो ताल मुगुको रारा ताल जोड्ने ताल्चा सल्लेरी सडकखण्डमा मेसेनरी वाल बनाउन बालुवा प्रयोग गर्नुपर्नेमा माटो मात्र प्रयोग गरेको पाइएको छ ।

ताल्चा जिरो पोइन्टदेखि सल्लेरीसम्मको करिब चार किलोमिटर सडकखण्डमा बालुवाको नाममा माटो मात्र प्रयोग गरिएको पाइएको हो । मुगुको रारा जोड्ने उक्त सडकखण्डको सडकको स्वरुप हेर्दा ग्राभेल भएको जस्तो छैन ।

मेसेनरी वाल निमार्णमा बालुवा, सिमेन्ट र ढुङ्गाको समिश्रण हुनुपर्ने भए पनि बालुवाको नाममा माटो मात्र प्रयोग गरिएको छायानाथ रारा नगरपालिका–८ का हरिकृष्ण विष्टले बताए । कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल रारा जाने यो सडकमा सिमेन्टमा बालुवा मिसाएर प्रयोग गर्नुको साटो माटो प्रयोग गरेर गुणस्तरहीन वाल बनाउँदै गरिएको छ । यस सडकमा काम गरिरहेका कामदारले पनि बालुवाको नाममा माटो प्रयोग गर्ने गरेका र ठेकेदारले जे काम गर्न आदेश दिन्छ त्यसै अनुरुप काम गर्ने गरेको स्वीकारेका छन् ।                       

जुम्लास्थित सडक डिभिजन कार्यलयको रु दुई करोड ३८ लाखको  लागतमा नाङजिल एण्ड आकांक्षा मजदुर जेविले सडकको वाल निर्माण तथा ग्राभेल गर्ने कामको जिम्मा पाएको हो । सडक निमार्णको काममा ग्राभेल राम्रै भए पनि वाल निमार्णमा गुणस्तरहीन सामग्री प्रयोग गरेको छायानाथ रारा नगरपालिका–८ का वडाध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए ।    

यस सडकको लम्बाइ चार किलोमिटर चार सय ६० मिटर छ । सडकको अधिकांश मेसेनरी वाल निमार्णमा टालटुल गरेको पाइएको छ । यो सडकको कामको जिम्मा पाएको ठेकेदार कम्पनीले कामदारलाई पेटीक्यासमा काम गर्न लगाउने र घनमिटरका आधरमा प्रतिघनमिटर एक हजारका दरले भुक्तानी गर्ने गरेको खुलेको छ । ठेकेदार कम्पनीको लापर्बाहीले बालुवाको साटो माटो प्रयोग गरेर  गैरजिम्मेवार रुपमा काम गरिएको अर्का स्थानीयवासी कर्णजङ्ग शाहीले बताए  ।