पर्यटन/संस्कृति

पोखरामा विदेशी पर्यटकलाई स्वागत

११ असोज, गण्डकी । विश्व पर्यटन दिवसको अवसरमा आज पोखरा विमानस्थलमा पहिलो उडानबाट आउने पर्यटकलाई स्वागत गरिएको छ ।

पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय गण्डकी प्रदेश, पोखरा पर्यटन परिषद् र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा काठमाडौँबाट बुद्ध र यति एयरलाइन्सबाट आएका स्वदेशी एवं विदेशी पर्यटकलाई स्वागत गरिएको हो ।

पोखरा विमानस्थलमा पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले स्वागत गरे । उक्त अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले पर्यटकको स्वागत गरेका थिए ।

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन

पर्यटन दिवसकै अवसरमा पोखराको नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिले अवलोकन गरेका छन् । अवलोकनमा नेपालबाट विभिन्न देशमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका उडान कम्पनीका अधिकारी, भारतीय तथा नेपाली सञ्चारकर्मी, पर्यटन क्षेत्र सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि सहभागी रहेका थिए । सहभागीलाई नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले विमानस्थलको भौतिक अवस्था लगायतका विषयमा जानकारी गराए ।