कृषि

मोरङ कृषि ज्ञान केन्द्रद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

१४ असोज, मोरङ । मोरङ जिल्लालाई कृषि उत्पादनबाट आत्मनिर्भर बनाउने ध्येयका साथ कृषि ज्ञान केन्द्र मोरङले आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम आज यहाँ सार्वजनिक गरेको छ ।

जिल्ला समन्वय समितिको समन्वयमा स्थानीय तह प्रमुख र प्रदेश सभासदस्यहरुसँग केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिकीकरण गोष्ठीमा केन्द्रले कृषिमा आश्रित नागरिकहरुको जीवनस्तर उठाउन विभिन्न अनुदान एवं सहयोगको कार्यक्रम ल्याएको छ ।

जिल्लामा रहेको एक लाख ८५ हजार पाँच सय हेक्टर जमिनमध्ये एक लाख ११ हजार ६ सय ९५ हेक्टर खेतीयोग्य जमिन रहेकामा एक लाख २२ हजार एक हेक्टर (५५ दशमलव ०९) जमिनमा खेती गर्ने गरिन्छ । उक्त जमिनमध्ये दुई सय ८० हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।

केन्द्रले चालु आवका लागि सङ्घीय तथा प्रदेश सरकारले छुट्याएको रु आठ करोड तीन लाख बजेटमध्ये स्थानीय निकायको सिफरिसमा तीन स्थानमा खाद्यान्न भण्डारा गृह निर्माण लागि रु एक करोड ५० लाख बजेट छुट्याएको छ भने दुई स्थानमा बीउ प्रशोधन पूर्वाधार/बीउ भण्डार गृह निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको प्रमुख रामदेव सिंहले जानकारी दिए । केन्द्रले कृषकहरुलाई प्राङ्गगारिक मलप्रति आकर्षित गराउन दुई स्थानमा मल उत्पादन पूर्वाधार तथा यन्त्र उपकरणका लागि रु एक करोड बजेट राखिएको छ ।

जिल्लामा मकै खेतीको विस्तारका लागि हाइब्रिड मकै खेती क्षेत्र विस्तारअन्तर्गत पाँच स्थानका लागि रु ७५ लाख बजेट छुट्याइएको छ भने ४० स्थानमा युवा लक्षित च्याउ, मह, तरकारी उत्पादनका लागि रु ४० लाख बजेट राखिएको छ ।

यस्तै चैते धानप्रति कृषकको आकर्षण बढाउन र उत्पादन वृद्धिका लागि रु ४९ लाख ८० हजार विनियोजन गरिएको छ भने मोरङको दक्षिण क्षेत्रमा रहेको हुलाकी राजमार्गका जनताको आर्थिक समृद्धि कायम गर्न तरकारी उत्पादनका लागि रु १२ लाख रकम विनियोजना गरिएको छ ।

यसैगरी नमूना कृषि फार्म स्थापनाका लागि सहयोग उपलब्ध गराउन रु २८ विनियोजन गरिएको छ भने जिल्लामा व्यावसायिक फलफूलको उत्पादन वृद्धिका लागि रु १२ लाख बजेट राखिएको छ । यसैगरी पुष्प आयात न्यूनीकरणका लागि यस्को खेतीका लागि चार स्थानमा नर्सरी स्थापनाका लागि रु आठ लाख, किवी खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत रु छ लाख, मोरङको पहाडी क्षेत्रमा कफी एवं अलैँची खेती विस्तार कार्यक्रमअन्तर्गत रु सात लाख ८५ हजार राखिएको छ भने माटो जाँचको रसायन खरिदका लागि रु नौ लाख छुट्याएको छ ।

जिल्लामा जुट खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत ३० स्थानका लागि रु छ लाख, कृषि यन्त्र उपकरण खरिदमा ब्याज अनुदानका लागि रु पाँच लाख, विभिन्न १० स्थानहरुमा प्लान्ट क्लिनिक सञ्चालनका लागि रु पाँच लाख बजेट राखिएको छ ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले जिल्लामा कृषि तथा तरकारी उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले केन्द्रले स्थानीय पालिकाको सोचअनुसार कार्य गर्नुपर्नेमा जोड दिए । बेलवारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, कानेपोखरी गाउँपालिकाका प्रमुख राजमती इङ्गनाम, कटहरी गाउँपालिकाका प्रमुख देवराज चौधरी, जहदा गाउँपालिकाका प्रमुख जीतेन्द्रप्रसाद साह, लेटाङ्ग नगरपालिकाका उपप्रमुख कृष्णकुमारी पोखरेल, वरिष्ठ कृषि अधिकृत मनोजकुमार यादवले जिल्लामा धान तथा चामल आयात नियन्त्रण गर्न व्यावसायिक धान खेती गर्नेतर्फ कृषकलाई यान्त्रीकरणमा प्रोत्साहन एवं सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

गोष्ठीमा स्थानीय निकायका प्रमुख, उपप्रमुख, कृषिका कर्मचारी, कृषक, कृषि विषय अध्ययनरत विद्यार्थीको सहभागिता रहेको थियो । केन्द्रको कार्यालय यही असोज ७ गते स्थापना भएको कारण कृषकलाई सेवा प्रवाहमा सहयोग पुगेको कृषकहरुले बताएका छन् ।