गण्डकी प्रदेश

बाच्छी हुर्काउन दश हजार अनुदान

४ कात्तिक, तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले बाच्छी हुर्काउन रु दश हजार अनुदान प्रदान गर्ने भएको छ ।

जिल्लामा यस वर्ष एक सय साठी पाडी तथा बाच्छी हुर्काउन प्रोत्साहन अनुदानका लागि बजेट आएको छ ।

कृत्रिम गर्भाधानबाट उच्च नश्ल जातका पाडी तथा बाच्छी एक वर्ष पूरा भएकालाई अनुदान दिइने कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए ।

प्रोत्साहन अनुदान कार्यक्रम सुरु भएपछि पाडी तथा बाच्छी हुर्काउन कृषक उत्साहित भएर लागेका छन् । गण्डकी प्रदेश सरकारले रु सोह्र लाख बजेट विनियोजन गरेको छ । उनले भने, “कार्यालयले सूचना प्रकाशित गरी कृषकसँग आवेदन माग गरिरहेको छ ।” कार्यालयले गत आर्थिक वर्षमा एक सय पचास पाडी तथा बाच्छी हुर्काउन रु पन्ध्र लाख बजेट विनियोजन गरेको थियो । जिल्लाको व्यास नगरपालिका र बन्दीपुर पकेट क्षेत्रका रुपमा रहेका छन् । अधिकांश आवेदन पनि सोही पालिकाबाट दिएको उनले बताए ।

पाडी बाच्छी हुर्काउँदा खर्च बढी लाग्ने र किसानले पाडी बाच्छी हुर्काउन नचाहने भएकाले अनुदान प्रदान गरी हुर्काउन प्रोत्साहन गरिएको उनले बताए । “यहाँ गाईभैँसी उत्पादनको स्रोत केन्द्र छैन, उच्च नस्लका गाईभैँसी अन्य जिल्ला तथा राष्ट्रबाट ल्याउनुपर्ने बाध्यता छ”, त्यसैले यही उत्पादनका लागि तयारी स्वरूप यो कार्यक्रम ल्याइएको उनले बताए ।

प्रतिपाडी तथा बाच्छी हुर्काउन रु दश हजारका दरले प्रोत्साहन अनुदान प्रदान गरिने उनले बताए । “कृत्रिम गर्भाधानबाट जन्मिएका पाडी तथा बाच्छी हुर्काउनका लागि मात्रै अनुदानको प्रदान गरिएको छ”, उनले भने, “एउटा किसानले पाँचसम्म पाडी बाच्छीलाई अनुदान लिनसक्ने व्यवस्था छ ।” कृत्रिम गर्भाधान गरिएको कार्ड विज्ञ केन्द्रले नै उपलब्ध गराएको हुन्छ । सोहीअनुरूप कृषकलाई अनुदान उपलब्ध गराउने गरिएको छ ।

पाडी बाच्छी उत्पादनलाई प्रोत्साहन गर्दा जिल्लामा नै स्रोत केन्द्र स्थापना गर्नसक्ने भएकाले अनुदान कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । यस वर्ष व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे नपा र भानु नगरपालिकामा उच्च नस्लका पाडी तथा बाच्छी उत्पादनका लागि कृत्रिम गर्भाधान गराइएको डा श्रेष्ठले बताए ।

अन्यत्रबाट उच्च नस्लका माउ गाईभैँसी ल्याउँदा महँगो पर्ने र ढुवानी खर्चसमेत बढी पर्ने हुँदा यही उत्पादन गर्नसकेमा उच्च नस्लका दुधालु गाईभैँसी आयात गर्नुभन्दा निर्यात गर्न सकिने उनले बताए ।