समाचार

जघन्य अपराधका घटनामा मेलमिलाप गर्नुहुँदैनः नगरप्रमुख शाह

१६ कात्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जघन्य अपराधका घटनामा मेलमिलाप गर्न नहुने बताएका छन् ।

काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको ‘वडा महिला सञ्जाल गठन र सञ्चालनसम्बन्धी छलफल’मा बोल्दै उहाँले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुङ्गो लगाउन नहुने बताएका छन् । “जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरुपण गराउन भ्रष्ट आचरण भएकाले बाधा अवरोध पु¥याउने भएकाले त्यसतर्फ सचेत हुनुपर्छ”, उनले भनए ।

नगरप्रमुख शाहले इमान्दार भएर काम गर्न मातहतका निकायलाई निर्देशनसमेत दिए । कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने उनको भनाइ छ । नगरप्रमुख शाहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निस्तेज पार्न सकिने बताए ।

महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले महानगरपालिकाले सबै वडामा महिला सञ्जाल गठन गर्न लागेको जानकारी दिए । महानगरपालिकाको न्यायिक समितिका संयोजकसमेत रहनुभएकी उपप्रमुख डङ्गोलले महिला सञ्जालमा काम गर्दा पुरुषमाथि कुनै पनि किसिमको विभेद नहुने बताए ।

“महिला सञ्जाल वडावडामा गठन गर्नुपर्छ भन्ने अभियान अगाडि बढाएका छौँ, न्यायिक समिति र महिला सञ्जालको मुख्य उद्देश्य भनेको मेलमिलाप नै हो”, उनले भने । काठमाडौँ महानगरपालिकाले यसअघि नै समाजमा हुने द्वन्द्व व्यवस्थापनका लागि भन्दै सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ ।