उर्जा

म्याग्दीखोला जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो

२३ कात्तिक, म्याग्दी । धवलागिरि गाउँपालिका–४ भएर बग्ने म्याग्दी नदीमा निर्माण हुन लागेको म्याग्दीखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ ।

हाइड्रो भिलेज प्रालिले बनाउन लागेको ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा पाँच कम्पनीले करिब रु आठ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् ।

धवलागिरि गाउँपालिकाको जेल्तुङमा विद्युत्गृह र दोभानमा बाँध रहने आयोजनाले ६२६.५० मिटर हेड र म्याग्दी खोलाको १२.५० घनमिटर प्रतिसेकेण्ड बहाव प्रयोग गरी ५७.३ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्नेछ । कुल रु १० अर्ब ७४ करोड लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंकको अगुवाइमा मेगा बैंक, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष र नेपाल एसबिआई बैंकले लगानी सम्झौता भएको कम्पनीका निर्देशक सुशील पोख्रेलले जानकारी दिए ।

आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (रु आठ अर्ब पाँच करोड ७० लाख)र स्वपूँजी २५ प्रतिशत (रु दुई अर्ब ६८ करोड ६०) लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्याइएको छ ।

यसैगरी प्रत्यक्ष वैदेशिक लगानीका रूपमा मलेसियन कम्पनी एक्वा भेञ्चर्सको तथा स्वदेशी लगानीका रूपमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभेलपमेन्ट कम्पनी र ऊर्जा डेभलपर्स, सिम्रिक भेन्चर्स, बिजबेलसमेतको स्वपूँजी लगानी हुने कम्पनीले जनाएको छ ।

आयोजनाबाट स्थानीय निकायहरूसँगकोे सहकार्यमा पहुँचमार्ग र अन्य पूर्वाधार निर्माणकार्य प्रारम्भ गरिसकेको र आगामी सुक्खा यामदेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गरिने कम्पनीका निर्देशक पोख्रेलले बताए । उनले निर्माण थालनी भएको ४० महिनाभित्र आयोजना सम्पन्न गर्ने जानकारी दिए ।

आयोजना सम्पन्न भएपछि सुक्यायाममा १०३।११ गिगावाट आवर (१०.३१ करोड युनिट) र वर्षायाममा २३२.८८ गिगावाट आवर (३२.२८ करोड युनिट) गरी वार्षिक ३३६ गिगावाट आवर (३३.६ करोड युनिट) विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ ।

उत्पादित विद्युत् आयोजनाको विद्युत्गृहदेखि करिब १७ किलोमिटर दूरीमा रहेको विद्युत् प्राधिकरणको निर्माणाधीन १३२–३३ केभी डाँडाखेत सबस्टेशनमा जोडिनेछ । म्याग्दी र आसापासका नदीहरूमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न डाँडाखेत र राहुघाटमा सबस्टेशनका लागि प्रसारण लाइन निर्माण सुरु भएको छ ।