समाचार

पत्रकार एलनमाथि भएको आक्रमणको छानबिन गर्न माग

१९ मंसिर, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रचार विभाग सदस्य तथा समाजवादी प्रेस सङ्गठन नेपालका उपमहासचिव रामकुमार एलनमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आज जारी गर्नुभएको विज्ञप्तिमा यही मङ्सिर १८ गते राति हेटौँडा उपमहानगरपालिका–२ स्थित पल्पसा सदनमा भएको आक्रमणको निन्दा गरिएको छ । एकीकृत समाजवादी उक्त घटनाको निष्पक्ष छानबिन गरी घटनामा संलग्न व्यक्तिलाई कडाभन्दा कडा कानुनी कारबाहीको माग गरेको छ । एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको छ ।

पत्रकार एलनको उद्धार गर्न पुगेका नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगर र बागमती एक्सप्रेसका सम्पादक रमेश बञ्जारा आक्रमणकारीबाट घाइते भएका छन् । यसैबीच नेपाल पत्रकार महासङ्घ र समाजवादी प्रेस सङ्गठनले उक्त घटनाको निन्दा गर्दै अपराधिक गतिविधिमा संलग्न सबै दोषीलाई कडा कारबाहीको माग गरेको छ ।