साहित्य

झर्रो कृतिका छ जना नारी प्रकाशकहरू पुरस्कृत

९ पौस, काठमाडौं । झापाको सुसेली साहित्यिक परिवारले आज एक कर्मठ महिला प्रतिभा र झर्रो कृतिका छ जना नारी प्रकाशकलाई पुरस्कृत गरेको छ ।

सङ्घर्षपूर्ण जीवन बिताएकी उदाहरणीय महिला जनिता श्रेष्ठलाई रु १३ हजार नगद राशिको बेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार प्रदान गरिएको छ भने झर्रो नेपाली कृतिका श्रष्टा तथा प्रकाशक रहेका छ जना नारी प्रतिभालाई झर्रो प्रकाशकको सम्मान अर्पण गरिएको छ । झर्रो सम्मान पाउनेहरूलाई रु पाँच हजार नगदसमेत प्रदान गरिएको छ ।

कर्मठ महिला पुरस्कार प्राप्त गरेकी श्रेष्ठ मेचीनगर वडा नं १० निवासी छन् । झर्रो प्रकाशक सम्मान पाउनेहरूमा ‘कल्पना र मुनाहरू’की प्रकाशक पार्वती खरेल, ‘झुल्के घाम’की प्रकाशक पार्वती गिरी, ‘तितो मिठो’की प्रकाशक कृष्णा खनाल, ‘धारा धाराका धार’की प्रकाशक जनककुमारी चालिसे र ‘भुइँफूल’की सर्जक तथा प्रकाशक सुभद्रा भट्टराई छन् ।

पूर्वीनाका काँकडभिट्टालाई केन्द्र बनाएर साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको सुसेली साहित्यिक परिवारले बर्सेनि नारी स्रष्टालाई पुरस्कृत र कविता गोष्ठी गर्दै आएको छ ।

दुवै पुरस्कार र सम्मानको स्थापना वरिष्ठ साहित्यकार चुडामणि रेग्मी र उनकी पत्नी बेदकुमारी रेग्मीले गरेका थिए ।

आज काँकडभिट्टास्थित देवकोटा पार्कमा भएको पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि सहप्राध्यापक मुनाकिरण कोइराला थिए भने सो अवसरमा नेपाल र भारतका साहित्यकारको जमघट रहेको थियो ।