समाचार

एनआरएनए यूकेबाट वर्खास्त कोषाध्यक्ष विष्णु खरेल नेपाल हाउसको ४२ हजार पाउण्ड लिएर फरार !

१५ पौस, काठमाडौं । एनआरएनए यूकेबाट वर्खास्त भइसकेका कोषाध्यक्ष विष्णु खरेल बेलायतमा नेपाल हाउस बनाउन विभिन्न संघसंस्थाबाट संकलित रकम ४२ हजार पाउण्ड बढी लिएर फरार भएका छन् ।

एनआरएनए यूके २०१९–०२१ कार्यसमितिले गत वर्ष २३ अक्टोबर २०२१ मा नेपाल हाउस बनाउन भनि उठाइएको ४२ हजार ९७२ पाउण्ड अध्यक्ष प्रेम गाहामगर नेतृत्वको कार्यसमितिलाई हयाण्डओभर गरेको थियो ।

उक्त कार्यसमितिमा कोषाध्यक्ष रहेका विष्णु खरेल अहिले त्यो पैसा आफैंले लिएर फरार भएको बताइएको छ ।

खरेलले अध्यक्षसहित वहुमत सदस्यको अनुमति बिना पञ्जीकृत सदस्यहरुको ३९ हजार २८५ पाउण्ड ७३ पेन्स हिनामिना गरेपछि उच्चस्तरिय छानविन समितिको सिफारिसमा संघले उनलाई ट्रष्टी बोर्ड र कोषाध्यक्ष पदबाट वर्खास्त गरेको थियो ।

सन् २०१५ मा मुछेत्र गुरुङ अध्यक्ष छंदा गुरुङले नेपाल हाउस निर्माणका लागि विभिन्न संघसंस्थाबाट पैसा उठाउन शुरु गरेका थिए । तर, नेपाल हाउस बन्न त परै जाओस्, उक्त पैसा हिनामिना भएको चाल पाएपछि अहिले बेलायतका कयौं नेपाली संघसंस्थाले पैसा फिर्ता माग्न थालेको बताइन्छ ।

आफूहरुको पैसा सही सदुपयोग नभएपछि कयौं संघसंस्थाका पदाधिकारी वर्तमान अध्यक्ष प्रेम गाहामगरसमक्ष आइपुगेका थिए । गाहामगरले त्यो पैसा आफूहरुसंग नभएको बरु विष्णु खरेलले लिएर भागेको बताएपछि खरेलकै घर घेरेर भएपनि पैसा फिर्ता माग्ने चेतावनी ति संस्थाले दिएका छन् ।

नेपाल हाउसको पैसा हिनामिनामा अध्यक्ष मुछेत्र गुरुङको कार्यसमितिका कोषाध्यक्ष र गत वर्ष अध्यक्ष पदमा पराजित दीपक श्रेष्ठ पनि संलग्न भएको पाइएको छ ।

खरेल र श्रेष्ठ मिलेर उक्त पैसा कुम्ल्याउने दाउमा रहेको श्रोतको दाबी छ । श्रेष्ठ तिनै व्यक्ति हुन्, जो गत वर्ष प्रेम गाहामगरसंग अध्यक्ष पदमा लज्जास्पद हार खाएर अहिले विद्रोही समूहबाट टिके उपाध्यक्ष बनाइएका छन् ।

यतिमात्र होइन्, अहिले श्रेष्ठको व्यक्तिगत चरित्र पनि उदांगो भएको छ । एकजना डिभोर्सी महिलालाई बिहेको प्रलोभन देखाएर वर्षौं यौन शोषण गरेको आरोप श्रेष्ठले खेपिरहेका छन् । ति महिलाको इस्युलाई लिएर केहि सचेतक महिलाहरुको समुहले ति महिलामाथि शोषण र धोका भएको भन्दै एनआरएनए यूकेमा कम्प्लेन गरेको र यसबारे संघले छिट्टै पब्लिकमा भण्डाफोर गर्ने भएको श्रोतले दाबी गरयो ।

उता, खरेलले एनआरएनए यूकेको सन् २०१९ देखि यता भएको झण्डै तीन देखि ४ लाख पाउण्ड कारोबार ढाकछोप गर्न वेलफेयर एकाउन्ट नै बन्द गरिदिएका छन् ।

यतिमात्र होइन्, खरेलले आफ्नो व्यक्तिगत फाइदाका लागि एनआरएनए यूके नन रेसिडेन्ट नेपाली एसोसिएसन नाममा बैंक एकाउन्ट समेत खोलेका छन् । नेटवेस्ट बैंकमा खाता खोलेर उनले गत १८ अक्टोबरमा चन्दा संकलन गरेका थिए । संकलित रकम कहां के प्रयोजनका लागि भन्ने खुलाइएको छैन् ।

बेलायतमा वर्क परमिट मिलाइदिन्छु भन्दै कयौं विद्यार्थीको हजारौं पाउण्ड पचाइदिएका खरेल अहिले एनआरएनए यूकेको रकम खान लागिपरेका छन् । खरेललाई अर्का वर्खास्त उपाध्यक्ष सुनिलबाबु खड्काको समेत साथ छ । खरेल र खड्का दुवै रेष्टुरेन्ट सञ्चालक हुन् । उनीहरुको कामदार शोषणमा नयां रेकर्ड छ ।

एनआरएनए यूकेले उल्लेखित तीनैजना विरुद्ध कानूनी प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ ।