समाचार

बिनु–निहारिकाको पक्षमा संसद किन उभियो ?

३ साउन, काठमाडौं । सिंहदरबारमा अधिकारकर्मी बिनु यादव र निहारिका राजपुतलाई गृहमन्त्रीसँग भेट गर्न नदिएको विषय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा पुगेको छ। समितिले गृह मन्त्रालयलाई उनीहरूलाई गृहमन्त्रीसँग भेट्ने वातावरण मिलाउन आग्रह गरेको छ।

आइतबार बसेको समितिको बैठकमा सभापति समीक्षा बास्कोटाले आफ्ना समस्या राख्न चाहने नागरिकले सम्बन्धित मन्त्रीसँग भेट्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताउँदै गृह मन्त्रालयलाई आवश्यक समन्वय गर्न अनुरोध गरिन्।

बिनु यादव र ‘कुमारी आमा’का नामले परिचित निहारिका राजपुत शनिबार गृहमन्त्रीसँग भेट्न नपाएपछि सिंहदरबारको मूल गेटमा धर्ना बसेका थिए। त्यसक्रममा प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर हटाएको घटनाले व्यापक चर्चा पाएको थियो।

बैठकमा सभापति बास्कोटाले बाल सुधार गृहमा रहेका बालबालिकाको अवस्था सुधार गर्न पनि सरकारलाई निर्देशन दिइन्। कैदीबन्दीसरहको सामान्य खानाले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा असर पर्ने भएकाले उनीहरूको उमेरअनुसार पोषणयुक्त भोजन, स्वास्थ्य, शिक्षा र पुनःस्थापनाको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिइन्।

रूपन्देहीसहित क्षमताभन्दा बढी बालबालिका रहेका सुधार गृहको अवस्था सुधार गर्न सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न पनि समितिले आग्रह गरेको छ।

यससँगै नागरिकता समस्या, उपसाहकोट पहिरोबाट विस्थापित परिवारको व्यवस्थापन तथा सप्तरी कारागारको दीर्घकालीन समस्या समाधानका लागि गृह मन्त्रालयसहित सम्बन्धित निकायसँग समन्वय गर्ने निर्णय पनि समितिले गरेको छ।

समितिले अनुसन्धान प्रणालीलाई थप वैज्ञानिक र प्रमाणमा आधारित बनाउन विधि विज्ञान प्रयोगशालाको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै बाल सुधार गृहसम्बन्धी प्रतिवेदन संसद्मा पेश गरी सरकारलाई आवश्यक निर्देशन दिने तयारीसमेत गरेको जनाएको छ।