समाचार

विमान दुर्घटनाः रुपावासीले आफ्नौ गौरव सम्झन्छन् पाइलट केसीलाई

१ माघ, गण्डकी । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेका पाइलट कमल केसीको निधनले यतिखेर कास्कीको रुपा गाउँपालिका शोकमा डुबेको छ ।

केसीको निधनले परिवारजन त साह्रै पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उनको जन्मस्थान पोल्याङवासी र गाउँपालिकावासी मर्माहत भएका छन् । केसीको रुपाको पोल्याङमा २०१९ सालमा जन्म भएको थियो ।

कमललाई विद्यालयमा प्राथमिक शिक्षा प्रदान गर्नुभएका उनका गुरु अग्रज पत्रकारसमेत रहनुभएका बद्रीविनोद प्रतीक आफूलाई आजको दिनमा कमलको दुःखद निधन सुन्नुपर्दा मर्माहत बनाएको बताए । कमलले हालको रुपा गाउँपालिका–१ को जटेश्वर माविमा कक्षा ५ सम्मको अध्ययन गर्नुभएको प्रतीकले बताए । उनले भने, “कमल कक्षामा जहिले पनि प्रथम हुन्थे । सानैदेखि मेहनती र अनुशासित थिए । आफूले प्राथमिक शिक्षा प्रदान गरेको एकजना शिष्य र देशकै कुशल पाइलट गुमाउँदा असाध्यै पीडा भएको छ ।”

पाइलट बनेपछि समेत केसीसँग पटक पटक भेटघाट हुने गरेको प्रतीकले सुनाए । “भेट्दाखेरि जहिले पनि सम्मान र आदर गर्थे । सञ्चो बिसन्चो सोधपुछ गर्ने गर्दथ्यौँ । उनले चलाएको जहाज दुर्घटनामा परेको सुनेदेखि नै दिनभरि कसैसँग बोल्न पनि सकिनँ ।”

उमेरले छ दशक पुगेका केसी अनुभवी पाइलटका रूपमा परिचित थिए । पछिल्लो समयमा सन् २०२३ को जनवरी १ देखि सञ्चालनमा आएको पोखराको नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान अन्तर्गतको पहिलो विमान अवतरण गराएका केसीसँगसँगै यात्रा गरेका पोखरेली पर्यटन व्यवसायी एवं सञ्चारकर्मी यतिखेर झलझली सम्झिएका छन् ।

केसी रुपा गाउँपालिकाबाट पहिलो पाइलट बन्नुभएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । “उहाँकै प्रेरणाबाट पछि रुपाबाट अरू पनि पाइलट बन्नुभएको छ”, उनले भने, “केसीको निधन हाम्रा लागि अपूरणीय क्षति हो ।”