गण्डकी प्रदेश

म्याग्दीमा एम्बुलेन्स अभाव

२३ माघ, म्याग्दी । एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पुर्‍याउन समस्या हुन थालेको छ । सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको हो ।

अस्पतालका प्रमुख डा शङ्करराज लामिछानेले भएको एउटामात्र एम्बुलेन्स बिग्रिन थालेपछि समस्या भएको बताए। “हाडजोर्नीसम्बन्धी समस्या भएका र अक्सिजन लगाएर रिफर गर्नुपर्ने बिरामी दैनिक दुई–तीन जना हुन्छन”, उनले भने, “हामीसँग भएको पाँच वर्ष पुरानो एकमात्र एम्बुलेन्स पनि बिग्रिएर दु:ख दिन थालेको छ ।” पछिल्लो दुई महिनामा एम्बुलेन्स मर्मतमा मात्र रु एक लाख ५० हजारभन्दा बढी खर्च भएको डा लामिछानेले बताए । बेनी अस्पतालले बागलुङ, पोखरा, काठमाडौँ, चितवनलगायतका अस्पतालमा रिफर गर्ने बिरामीलाई त्यहाँ पुग्ने सवारीसाधन पाउन कठिन हुन थालेको छ । आकस्मिक, अक्सिजन लगाउनुपर्ने र हाडजोर्नीबाहेकको समस्या भएका बिरामी ट्याक्सी चढेर अस्पताल जाने गर्छन् ।

अस्पतालको एम्बुलेन्स बेनी बाहिर गएको र बिरामी धेरै भएको अवस्थामा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाको एम्बुलेन्स बोलाउने गरिएको छ । बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले नयाँ एम्बुलेन्स उपलब्ध गराउन प्रदेश र सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अनुरोध गरिएको बताए । लायन्स क्लब, भारतीय दूतावासलगायत दातासँग पनि एम्बुलेन्स उपलब्ध गराउन प्रस्ताव गरिएको सुवेदीले बताए।

म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना० बेलायतले नेपाल रेडक्रस सोसाइटीको जिल्ला र भुरुङ–तातोपानी उपशाखालाई आठ वर्षअघि उपलब्ध गराएको दुईवटा एम्बुलेन्स बिग्रिएपछि दुई वर्षदेखि बेनी अस्पताल परिसरमा थन्किएका छन् । दरवाङ उपशाखालाई मोनाले दिएको एम्बुलेन्स पनि मालिका गाउँपालिकाको कार्यालय अगाडि थन्क्याएर राखिएको छ । धवलागिरि, अन्नपूर्ण गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीको एक/एक एम्बुलेन्स ग्रामीण क्षेत्रका बिरामीलाई सदरमुकाम बेनी ल्याउन व्यस्त हुन्छन् । धवलागिरि गाउँपालिकाले गत वर्ष एम्बुलेन्स सञ्चालन गरेको थियो । रेडक्रस र अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स विसं २०७५ मा भारतीय दूतावासले प्रदान गरेको हो । मोना युकेले विसं २०७१ मा उपलब्ध गराएको तीनवटा एम्बुलेन्स मर्मत र सञ्चालनका लागि रु १० लाख ८० हजार दुई सय ८० को एम्बुलेन्स सेवा अक्षयकोष स्थापना गरेको थियो । ग्रीन बैंकको बेनी शाखामा रहेको अक्षयकोषको ब्याजबाट एम्बुलेन्सको बीमा शुल्क तिर्ने गरिएको रेडक्रस सोसाइटी म्याग्दीले जनाएको छ ।