समाचार

विप्लव नेतृत्वको पार्टीले देशव्यापी विरोध प्रदर्शन गर्ने

२५ माघ, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

बुधबार काठमाडौंमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले महँगी र चर्को ब्याजदरविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्न लागेको बताए ।

उनका अनुसार बैठकले जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता भन्ने नीति पारित गरेको छ ।

जनताको सुख दुःखमा पार्टी पुग्ने भन्दै उनले भने, ‘मिटर ब्याज, बैङ्क तथा लघुवित्तको चर्को ब्याजदरविरुद्ध ५ गते र चर्को महँगीविरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्नेछौँ ।’