समाचार

पूर्वप्रधानमन्त्री कोइरालाको सातौँ स्मृति दिवसमा ‘राजद्रोही राजनेता’ प्रदर्शन गरिने

२५ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गरिने भएको छ ।

सुशील कोइराला मेमोरियल फाउण्डेशनको आयोजनामा यही माघ २८ गते शनिबार बिहानदेखि बेलुकीसम्म पाँचपटक निःशुल्क ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गर्न लागिएको सदस्यसचिव अतुल कोइरालाले राससलाई जानकारी दिए ।

नेपाली कांग्रेसको संस्थापकसमेत रहनुभएका बिपी आफूमाथिका आठवटा राजद्रोहसम्बन्धी मुद्दाको समेत पर्वाह नगरी विसं २०३३ पुस १६ गते किन स्वदेश फर्किए र कसरी जनमत सङ्ग्रहको घोषणा भयो भन्ने विषयलाई वृत्तचित्रमा सूक्ष्मरूपमा देखाइएको छ । नेपाल प्रवेश गर्नेबित्तिकै राजद्रोहको मुद्दाका कारण मृत्युदण्ड हुनसक्ने र भारत प्रवासमा बसिरहँदा राष्ट्रियता सङ्कटमा पर्ने त्रासका बीच बिपीले गरेको ऐतिहासिक राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको विषयलाई वृत्तचित्रमा देखाइएको फाउण्डेशनका सदस्यसचिव कोइरालाले बताए ।

ज्यान हत्केलामा राखेर मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएकाले नै बिपी राजनेता बन्न सफल हुनुभएको विषयलाई वृत्तचित्रमा देखाइएको छ । मुलुकको सार्वभौमिकता जोगाउन उनले उठाएको जोखिमलाई पनि वृत्तचित्रको विषय बनाइएको छ । आज गौरवका साथ नाम लिइने देशको स्वाधीनता कसरी जोगियो भन्ने विषयलाई वृत्तचित्रले देखाएको छ । ऐतिहासिक पात्रकै माध्यमबाट त्यसबेलाका घटना दर्शकले हेर्न सक्ने भएका छन् । गत वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर निर्माण गरिएको वृत्तचित्र यसअघि राजधानी काठमाडौँमा दुईपटक र गण्डकी प्रदेशको राजधानी पोखरामा एकपटक देखाइसकिएको छ ।

इतिहासको संरक्षणका लागि अन्वेषण अभियानअन्तर्गत अन्य वृत्तचित्र पनि बनाइने भएको छ । ऐतिहासिक विषयमा १२ वटा अन्य वृत्तचित्र निर्माण प्रक्रिया अघि बढाइएको उनले सुनाए ।

अन्वेषण न्यूज डटकमका प्रधानसम्पादक जगत नेपालका अनुसार विकसित देशमा यस्ता दस्तावेजको संरक्षण गर्ने काम राज्यले गर्ने भए पनि नेपालमा प्राथमिकतामा पर्न सकेको छैन । राज्यले ध्यान नदिएकै कारण कयौँ यस्ता तथ्य एवं सामग्री लोप भइसकेको छ । लोप नभएका तथ्य एवं सामग्रीको संरक्षणका लागि अन्वेषण अभियानले काम गर्न लागेको प्रधानसम्पादक नेपाल बताउछन् । फाउण्डेशनले अन्वेषण न्यूज डटकमसँगको सहकार्यमा यो वृत्तचित्र निर्माण गरेको हो ।

फाउण्डेशनले अन्वेषण न्यूज डटकमको सहकार्यमा अन्य वृत्तचित्र निर्माणलाई अघि बढाएको जनाइएको छ । इतिहासजस्तो गम्भीर विषयमा श्रव्यदृश्यजस्तो खर्चालु प्रविधिमार्फत ऐतिहासिक दस्तावेजको संरक्षण गर्नु चुनौतीपूर्ण काम भएकाले अभियानले सहकार्यका लागि पनि इच्छुक सङ्घसंस्थासँग आह्वान गरेको छ ।

‘राजद्रोही राजनेता’ तयार पारेसँगै अन्वेषण अभियानले ‘प्रजातन्त्रका लागि अपहरण’ र ‘मिसन ओखलढुङ्गा’ वृत्तचित्र तयार गरी सम्पादनको अन्तिम चरणमा रहेको जनाइएको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका फाउण्डेशनका अध्यक्ष डा शशाङ्क कोइराला एक दर्जनभन्दा बढी यस्ता वृत्तचित्र निर्माणको तयारी गरिएकाले यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउछन् ।

‘राजद्रोही राजनेता’ हेरेपछि पूर्वमुख्यसचिव लीलामणि पौड्यालले इतिहास संरक्षणमा यस्ता वृत्तचित्रले महत्त्वपूर्ण काम गर्ने बताएका थिए । ‘राजद्रोही राजनेता’लाई देशका प्रमुख सहरमा देखाउने फाउण्डेशनको लक्ष्य छ ।

यस वर्ष विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री कोइरालाको सातौँ स्मृति दिवस पारेर प्रदर्शन गर्न लागिएको हो । संविधान जारी भएकै वर्ष माघ २५ गते राति कोइरालाको निधन भएको थियो ।

सादगी नेताको परिचय बनाउनुभएका पूर्वप्रधानमन्त्री सुशील कोइराला ७० वर्षअघि बिपी कोइरालाले अघि सारेको संविधानसभाबाट संविधान जारी गर्ने मुद्दालाई कार्यान्वयन गर्न सफल भएका थिए । कोइरालाको प्रधानमन्त्रीत्वकालमा भ्रष्टाचार नियन्त्रण गर्न सरकारले गरेका खर्च प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटबाट सार्वजनिक गर्न सुरु भएको थियो । कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी नेपाली कांग्रेस, भ्रातृ एवं शुभेच्छुक संस्थाले मनाउने जनाइएको छ ।