साहित्य

वरिष्ठ बाल साहित्यकार मानन्धर सम्मानित

काठमाडौँ, ६ फागुन । यस वर्षको युद्धप्रसाद स्मृति पुरस्कार वरिष्ठ बाल साहित्यकार एवं शिक्षासेवी शान्तदास मानन्धरलाई प्रदान गरिएको छ ।

युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा आज आयोजित ३३औैँ युद्धप्रसाद मिश्र स्मृति दिवसका अवसरमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा रु ३१ हजार नगदसहित सो पुरस्कार प्रदान गरी सम्मान गरिएको हो ।

कार्यक्रममा प्रगतिवादी गणतन्त्रवादी कवि युद्ध्रप्रसाद मिश्रले पञ्चायती तानाशाही व्यवस्थामा पनि कविताको माध्यमबाट गणतन्त्र ल्याउनुपर्छ भनी कविको नेतृत्व गरेका मिश्रले पञ्चायती शासनको मुक्तिका लागि साहित्यिकरूपमा कलम चलाइ मुलुकमा सामाजिक, राजनीतिक परिवर्तन गर्नमा महत्वपूर्ण योगदान पु¥याएको प्रतिष्ठानका महासचिव नन्दु उप्रेतीले जानकारी दिए ।

साहित्यकार, पूर्वमन्त्री रघुजी पन्तले राजनीतिक दल प्रतिबन्धित समयमा साहित्यिक, सांस्कृतिक क्षेत्रमा कलम चलाएर पर्दा पछाडि र अगाडिबाट गणतन्त्र ल्याउनमा मिश्रको ठूलो योगदान रहेको बताए ।

सो कार्यक्रममा सम्मानित बालसाहित्यकार मानन्धरले आफूले बालसाहित्यमा लामो समयसम्म कलम चलाएको बताउँदै बालबालिकालाई स्वस्थ, सचेत र आत्मनिर्भर बनाउन आउने पुस्ताले यस क्षेत्रमा कलम चलाउन जरुरी रहेको बताए ।

नेपाली जनक्रान्तिका आवाजहरूको बुलन्द गर्ने, गणतन्त्रको माग गर्ने, निडरतापूर्वक नेपाली जनआन्दोलनमा दृढताका साथ निरन्तरता दिएर सामाजिक राजनीतिक रुपान्तरणमा मिश्रको महत्वपूर्ण भूमिका निर्वाह गरेको कवि एवं समालोचक डा रामप्रसाद ज्ञवालीले बताए ।