कर्णाली प्रदेश

कुशेमा आवतजावत गर्न सास्ती

९ फागुन, जाजरकोट । हिउँदयाममा मात्र सडकको पहुँचमा हुने कुशे गाउँपालिकामा निजी सवारीसाधनले निर्धारित भाडाभन्दा बढी असुल गरेको पाइएको छ । रातो प्लेटको यातायातका साधनले सार्वजानिक यातायातजस्तै गरेर भाडा असुलेर सञ्चालन गर्न नपाइने भए पनि सदरमुकामबाट कुशे आउने अधिकांश सवारीसाधन धेरै रकम उठाइरहेको सरोकारवालको गुनासो छ ।

जाजरकोटबाट काठमाडौँ गएको भन्दा बढी भाडा सदरमुकामबाट कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र भाम्र आएको भाडा रहेको बताइएको छ । रातो प्लेटमा सञ्चालनमा रहेको निजी सवारीसाधनले यात्रुलाई राखेर जबर्जस्ती भाडा असुल गरिरहेको स्थानीय कर्णबहादुर थापाले गुनासो गरे। कुशे आवत जावत गर्न सास्ती हुने गरेको यात्रुको भनाइ छ ।

पाँच यात्रु अट्ने गाडीमा २० यात्रु राखेर गाडी चलाएको प्रहरीले देखेपनि नियन्त्रणतर्फ ध्यान नदिएको उनले बताए ।

गाउँपालिकाको केन्द्र जोड्ने सरुगाडमा पुल नहुँदा अर्को समस्या हुँदै आएको छ । साविकको पैँक, ढिक, खुर्पा, समाइलालगायतका ठाउँलाई पालिकासँग जोड्नका लागि सरुगाड पार गर्नुपर्ने हुन्छ । पालिका भार्म सरुगाडभन्दा पारिपट्टि छ । अर्छानी, टालेगाउँलगायतका ठाउँसमेत सरुगाडभन्दा पारिपट्टि छन् । हिउँदयाममा खोलाको पानी कम भए पनि वर्षायाममा यो बाटोमा यातायातका साधन खोलाकै कारण ठप्प हुँदै आएका छन् । गाउँपालिका स्थापना भएको पहिलो कार्यकाल पूरा भएर दोस्रो काल सुरु हुँदासम्म सडक र पुल निर्माणमा ध्यान नजाँदा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ ।

सबै पालिकाको मुकामका पक्की सडक निर्माण गर्ने सङ्घीय सरकारको नीति रहेको छ । कुशेमा यातायातको साधन चढ्न निकै मुस्किलमात्र होइन, चुनौतीसमेत हुँदै गएको सर्वसाधारण बताउँछन् । छेडा–कुशे र खलङ्गा–कुशे सडक स्तरोन्नतिमा ध्यान नदिए बर्सेनि यहाँका नागरिकले दुःख पाउने क्रम नरोकिने सर्वसाधारण बताउँछन् ।