गण्डकी प्रदेश

पुर्व सचिव ईश्वर चन्द्र मरहट्टाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

१४ फागुन, काठमाडौं । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टाविरुद्ध भ्रष्टाचारको मुद्दा लागेको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ४५ लाख ५२ हजार ६ सय ७१ रूपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मरहट्टा सहित अन्य दुई कर्मचारी विरुद्द पनि अख्तियारले मुदा चलाएको जनाएको छ । गोरखा जील्लाको गोरखा नगरपालिका वडा नं. ३ जरेवरस्थित दरौदी नदीमाथि सडकबिना मोटरेबल पुल बनाएर आर्थिक अनियमितता गरेको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा चलाएको हो ।


भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम पदको दुरुपयोग गरी मरहठ्ठाले राज्यको सम्पत्ति हिनामिना गरेको कारण अख्तियारले मुद्दा दायर गरेको हो। पूर्वसचिव मरहठ्ठाले दरौदी खोलामा काल्पनिक पुल निर्माणको डिजाइन गराएर भुक्तानी गराएको अख्तियारले जनाएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम मरहठ्ठाविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर भएको हो ।