गण्डकी प्रदेश

पर्वतका माझी समुदायले पहिलोपटक मनाए लदीपर्व

१७ फागुन, पर्वत । पछिल्लो समय लोप हुँदै गएको लदीपूजा (नदीपर्व) पर्वत र बागलुङको मालढुङ्गाका माझी समुदायले मङ्गलबार धुमधामसँग मनाएका छन् ।

सडक निर्माण र नदीहरूमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेसा माछा मार्ने, डुङ्गा ९नाउ०मा मानिसलाई नदी तार्ने काम बन्द भएपछि लदीपूजा पनि हराउँदै गएको थियो । पर्वतको कुश्मा नगरपालिका वडा नं १ मालढुङ्गामा अहिलेसम्म लदीपूजा हुनसकेको थिएन ।

द्वन्द्वकालमा आएको समस्याका कारण नदीमा पूजा हुनसकेको थिएन । अल्पसङ्ख्यक समुदायअन्तर्गत पर्ने माझी समुदायको परापूर्वकालदेखि नै खोलाको किनारमा बसी माछा मार्ने, डुङ्गामा राखी मानिसलाई नदी तारिदिने काम गर्थे । उनीहरू सधैँ खोला तथा नदीको नजिक हुने, त्यहीँ बस्ने र त्यसैमा आश्रित हुने भएकाले पूजा गर्ने परम्परा रहिआएको बताइन्छ ।

लदीपूजा गर्नाले माझी समुदायको मुख्य पेसाका रूपमा परिचित पुख्र्यौली पेसा नदीमा डुङ्गा चलाउँदा र माछा मार्दा कुनै पनि जोखिम आउँदैन भन्ने विश्वास रहेको छ । साथै नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यतासमेत रहेको छ । वर्षात्को समयमा नदीले बर्सेनि विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पु¥याइरहेको छ । त्यस्ता किसिमका कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षति नपु¥याओस् भनेर नदीको पूजा गरिँदै आएको स्थानीय बलबहादुर माझीले बताए।

लदीपूजामा आएका माझी समुदायले मौलिक पोशाक गुन्युचोली र फेटा इस्टकोटमा सजिएका थिए । आफ्नै समुदायमा समेत यसको महत्व उजागर गर्न आवश्यक रहेको उनले बताए । माझी समुदायले मुख्य पर्वका रूपमा मनाउने यस पूजाको संरक्षण आवश्यकता भएको उनीहरूको भनाइ छ । माझी समुदायको पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाएर सरकारी तवरबाट संरक्षणको पहल हुनुपर्ने उनीहरूको माग छ ।

कार्यक्रमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले माझी समुदायका समस्या समाधानका लागि नगरपालिकाले आवश्यक पहल गर्ने बताए। उनले माझी समुदायलाई वैकिल्पक बासस्थानको व्यवस्था र पेसाका लागि नगरले पहल गर्ने बताए। कार्यक्रममा नगर उपप्रमुख स्वस्थानी रिजालले सीमान्तकृत वर्गमा रहेका माझी समुदाय परम्परागत पेसाबाट आत्मनिर्भर हुन नसक्ने अवस्थामा रहेको बताउँदै वैकल्पिक आयआर्जनको पेसामा लाग्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै बर्खाको समयमा नदी किनारमा बाढी–पहिरोको जोखिम बढ्ने भएकाले उनीहरूले लामो समयदेखि माग गर्दै आएको स्थानान्तरणको समस्याका बारेमा समेत अध्ययन गरिने बताए।

पर्वत र बागलुङको सङ्गमस्थलमा पर्ने मालढुङ्गामा झन्डै तीन सय माझी समुदायका परिवार बस्दै आएका छन् । लदीपर्वका लागि कुश्मा नगरपालिकाले आर्थिक सहयोग गरेको हो । पोखरा–बागलुङ सडक खुलेपछि सोही आयोजनामा काम गर्ने कामदार पछि माझीको रूपमा यहाँ बस्दै आए पनि अहिलेसम्म राज्यले कुनै सहयोग नगरेको स्थानीय सरु माझीले बताए । उनस्हरु अहिले कालीगण्डकी नदीबाट बालुवा निकालेर बिक्री गर्ने तथा बङ्गुरपालनलगायतका व्यवसाय गर्दै आएका छन् ।