२३ फागुन, काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले आमाका नामबाट नागरिकता नपाउनेलगायत नागरिकता समस्या समाधान गर्न लागि पर्ने प्रतिबद्धता जनाएको छ ।
एक सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला, कानून र विकास मञ्च एवं इक्वालिटी नाउले आज यहाँ आयोजना गरेको मबाट महिलावाद विषयक कार्यक्रममा उनीले संविधानमा व्यवस्था गरेर पनि आमाका नामबाट नागरिकता नपाएको विषयलाई आफूले गम्भीररूपमा लिएको बताए ।
साइबर अपराधका उजुरी काठमाडौँमा मात्र दर्ता हुँदा समस्या आएको गुनासा धेरै जिल्लाबाट आएको उल्लेख गर्दै उनले गृहमन्त्रालयको ध्यानाकर्षण गराउँदै सहजताको व्यवस्था गराउन लागिपर्ने बताए। प्रविधिको प्रयोगले महिला नै बढी पीडित भएका घटना आएकाले यसमा सजगता अपनाउन पनि उनीले आग्रह गरे ।
महिला हिंसाका घटनामा महिला दह्रो भए कसैको केही नचल्ने अनुभव सुनाउँदै उपाध्यक्ष अर्यालले महिलाबाट पुरुषलाई पनि हिंसा भएका घटना आउन थालेकाले कसैप्रति पनि हिंसा नहुने वातावरण बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा मञ्चका अधिवक्ता नेहा गुरुङले महिलाले आफू सुरक्षित हुन कानूनी ज्ञान राख्नुपर्नेमा जोड दिए । कानूनकी विद्यार्थी यशोदा चन्दले प्रविधिले निम्त्याएको विकृति विषयमा कविता पाठ गर्नुभएको थियो । प्रविधिले महिला, किशोरी र बालिकामा पारेको नकारात्मक प्रभावका विषयमा सचेतनामूलक नाटक पनि सो अवसरमा प्रस्तुत गरिएको थियो ।
आठ मार्चका अवसरमा बुधबार विश्वभर लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै छ । यस अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलगायतले विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ ।





