समाचार

आयोगद्वारा राष्ट्रपति निर्वाचन अनुगमन

२५ फागुन, काठमाण्डौँ । राष्ट्रिय मानव अधिकार आयोगले पहिलो पटक राष्ट्रपति निर्वाचनको स्थलगत अनुगमन गरेको छ ।

आज सम्पन्न निर्वाचनमा आयोगका सदस्य मिहिर ठाकुरको नेतृत्वमा तीन सदस्य टोलीले अनुगमन गरेको हो । सदस्य ठाकुरले अनुगमनका क्रममा निर्वाचनमा मतदान प्रक्रिया सफलरुपमा सम्पन्न भएको बताए। उनले भने, “निर्वाचनमा स्थलगत अवलोकन र अनुगमनका क्रममा निर्वाचनमा खटिएका निर्वाचन अधिकृत, मतदान अधिकृत, सुरक्षाकर्मी र पत्रकारसँग कुराकानी गरेका थियौँ । समग्रमा राम्रो वातावरणमा निर्वाचन सम्पन्न भएको पायौँ ।”

यसअघिका स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आयोगको टोलीले अनुगमन गर्दै आएको थियो । राष्ट्रपति निर्वाचनमा पहिलो पटक आयोगले अनुगमन गरेको हो । अनुगमनका क्रममा प्रदेशसभातर्फका सांसदहरुको गुनासो आएको अनुगमन टोलीका संयोजक ठाकुरले जानकारी दिए।

उनले प्रदेशसभातर्फका सदस्यले मतदान गर्न काठमाडौँ धाउँदा खर्चसँगै जनताको काम ओझेलमा परेको गुनासो आएको बताए। “प्रदेशतर्फको सांसदहरुले प्रदेशमा नै मतदान गर्न पाउनुपर्ने माग गरेको छ । राष्ट्रपतिलगत्तै उपराष्ट्रपतिको मतदानका लागि काठमाडौँ धाउनुपर्दा नागरिकको काम ओझेलमा परेको र स्वयं सदस्यलाई आर्थिक भार र समय बढी व्यतित भएको उनिहरुको गुनासो छ”, उनले भने ।