समाचार

तीनै तहको सरकारलाई बलियो बनाउनुपर्छ: मन्त्री शर्मा

२७ फागुन, दमौली । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले तीनै तहको सरकारलाई बलियो बनाउनुपर्ने बताएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले बलिदान र सङ्घर्षबाट प्राप्त भएको उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेकाले त्यस्ता षड्यन्त्रलाई असफल बनाइने उल्लेख गरे।

मन्त्री शर्माले तीनै तहको सरकारबीच समन्वय र सहकार्य हुँदा नै देश विकास सम्भव रहेको बताए । संविधानले तीन तहको सरकारको परिकल्पना गरेको उल्लेख गर्दै उहाँले संविधानले नै तीनै तहका सरकारको अधिकारलाई व्यवस्थित गरेको बताए । उनले भने, “स्थानीय तह जनताको नजिकको सरकार हो । जनताको सुखदुःखको साथी हो ।”

विकास निर्माणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री शर्माले योजना बनाएर अगाडि बढ्न सबैलाई आग्रह गरे । स्थानीय सरकारलाई बलियो बनाउनका लागि कानुन निर्माण गर्न सङ्घीय सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । उनले भने, “बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि गुम्न दिँदैनौँ । स्थानीय तहलाई बलियो बनाएर लैजान सरकार प्रतिबद्ध छ ।” गाउँपालिकाले अगाडि सारेका गौरवका योजनाका लागि बजेट विनियोजन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री शर्माले बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार व्यवस्थामन्त्री हरिबहादुर चुमानले स्थानीय सरकारलाई बलियो बनाउन प्रदेश सरकार सहयोग गर्न सदैव तयार रहेको बताए । आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले स्थानीय सरकार प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताए ।

कार्यक्रममा गाउँपालिकाको विकासमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मानित गरिएको छ ।