स्वास्थ्य

नेत्रज्योति सङ्घ चितवनमा नयाँ नेतृत्व

२७ फागुन, काठमाडौं । नेपाल नेत्रज्योति सङ्घ चितवनको सभापतिमा जयराम श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । सङ्घको आज सम्पन्न २३औँ साधारणसभा तथा अधिवेशनले श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको सदस्यमा तेजेन्द्रबहादुर खड्का, केशवप्रसाद अधिकारी, सिद्धार्थलाल चुके, नारायणप्रसाद अधिकारी, शान्तकुमार पिया, चीरञ्जीवी सुवेदी, पवनकुमार पिया, दिनेश खनाल, रामप्रसाद भट्ट र गुरुप्रसाद पौडेल रहेका छन् । समितिको महिला सदस्यमा सुधा जोशी र कस्तुरी श्रेष्ठ चयन भएका छन् । प्रेमप्रभा क्षेत्री, दीपक राना, रामप्रसाद कँडेल र केएन सिलवाल समितिको सदस्यमा मनोनित भएका छन् ।

अधिवेशन सम्पन्न भए पनि आगामी वैशाख १ गतेदेखि नयाँ समितिको कार्यकाल प्रारम्भ हुनेछ । समितिको पहिलो बैठकले उपसभापति, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष चयन गर्ने सङ्घका जिल्ला अध्यक्ष कृष्णराज धरेलले जानकारी दिए ।

अधिवेशनको उद्घाटन सङ्घका केन्द्रीय महासचिव भरतबहादुर चन्दले गरेका थिए । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, सङ्घका पूर्वसभापति वामदेव खनाल, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, लायन्स इन्टरनेशनल ३२५ आरका गभर्नर सिद्धार्थलाल चुके, भरतपुर १० का वडाध्यक्ष पर्मेश्वर खनाल, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललगायतले शुभकामना दिएका थिए ।

सङ्घले भरतपुर आँखा अस्पताल र यस मातहत १६ आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ ।