बाग्मती

अपाङ्गता भएका व्यक्तिलाई आक्रमण गरी हत्या गर्ने दोषीमाथि कारबाहीको माग

२८ फागुन, काठमाडौं । राष्ट्रिय बहिरा महासङ्घ नेपालले सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा व्यक्तिमाथि शृङ्खलाबद्ध आक्रमण गरी हत्या गरिएको भन्दै दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेको छ । महासङ्घले पछिल्लो समयमा रौतहट र मोरङलगायत जिल्लामा सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई कुटपिट गर्ने, हत्या गर्ने, अमानवीय व्यवहार गर्ने र यातना दिने घटनाहरू दिनप्रतिदिन बढ्दै गएको भन्दै भत्र्सनासमेत गरेको छ ।

‘रौतहटमा गरिएको बहिरा नागरिक गजेन्द्रदास एवं मोरङमा गरिएको बहिरा नागरिक राधादेवी राजवंशीको हत्याको महासङ्घ घोर भत्र्सना गर्दछ’, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । गौर नगरपालिका–१ रौतहट, पथर टोलमा यही फागुन २४ गते होलीको दिन सोही टोलका स्थानीयवासी गणेश यादवसहितका व्यक्तिहरूले मरणासन्न हुने गरी निर्घात कुटपिट गर्दा गजेन्द्र दासको मृत्यु भएको महासङ्घको भनाइ छ ।

त्यसैगरी विराटनगर महानगरपालिका–४ स्थित समावेशीगाउँकी राधादेवी राजवंशीको बाटोमा हिँडिरहेको बेलामा ट्र्याक्टरले पछाडिबाट हानेर ज्यान गुमेको विज्ञप्तिमा उल्लेख छ ।