समाचार

सभामुखले पत्रकार बिक्रीमा छन् भनेको अभिव्यक्तिमा पत्रकार महासङ्घको आपत्ति

४ फागुन, काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सभामुख देवराज घिमिरेको अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको भन्दै आपत्ति जनाएको छ ।

महासङ्घका महासचिव रोशन पुरीले आज प्रेस विज्ञप्ति जारी गर्दै संसद्को मुख्य नेतृत्वबाट पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार सङ्घीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न र सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा सभामुख घिमिरेले दिएको अभिव्यक्तिप्रति महासङ्घले असन्तुष्टि जनाएको हो ।

विज्ञप्तिमा सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् भएको उल्लेख छ । उक्त अभिव्यक्तिले यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्नेतर्फ महासङ्घले गम्भीर चासो र चिन्ता प्रकट गरेको उनको भनाइ छ ।

विज्ञप्तिमा सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासङ्घको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको बताइएको छ ।