आर्थिक

ग्राहकको पैसा सापटी लिएर सम्पर्कविहीन भए प्रभु बैंकका प्रबन्धक

६ चैत्र, काठमाडौँ । प्रभु बैंकको दिक्तेल शाखा खोटाङका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन भएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका प्रभु बैंकका प्रबन्धक खतिवडा चिनजानका साथीभाइसँग लाखौँ पैसा सापटी लिएर फागुन १ गतेदेखि सम्पर्कविहीन भएका हुन् ।

प्रबन्धक खतिवडाले दर्जनौँ व्यक्तिको पैसा सापटी लिएको खुलेको छ । खतिवडा सम्पर्कविहीन भएपछि उनलाई पैसा सापटी दिने व्यक्तिहरू फसेको भन्दै अत्तालिन थालेका छन् । गत माघ मसान्तसम्म बैंकको शाखा कार्यालय दिक्तेलको सम्पर्कमा रहेका खतिवडा अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

प्रबन्धक खतिवडाले सापटी भनेर रु १० लाख लिएकामा रु पाँच लाख फिर्ता गरेर बाँकी रु पाँच लाख फिर्ता नगरी सम्पर्कविहीन भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका काँशिराज बस्नेतले बताए । “प्रबन्धक खतिवडा मेरै स्कुले साथी हुनुहुन्छ । धेरै पटक उहाँले हामीसँग व्यवहार गर्नुभएको थियो”, उनले भने, “पछिल्लो समय पैसा फिर्ता नगरी एकाएक उहाँ सम्पर्कविहीन हुनुभयो । सँगै पढेको साथीले यस्तो गरेपछि दुःख लागेको छ ।”

प्रबन्धक खतिवडाले एउटै व्यक्तिबाट रु १६ लाखसम्म सापटी पैसा लिएको खुलासा भएको छ । खतिवडाले कतिपयलाई चेक दिएर पैसा सापटी लिएको पाइएको छ । उनले खातामा पैसा भएको ग्राहकलाई छानेर बैंकमै बोलाएर तथा नजिक घर भएका व्यक्तिलाई घरमै गएर पैसा सापटी माग्ने गरेको पीडितहरुले बताएका छन् ।

प्रबन्धक खतिवडाले केही दिनमा फिर्ता गर्ने गरी भतिजोलाई अष्ट्रेलिया पठाउन तयार पारेको पैसा सापटी लिएर सम्पर्कविहीन भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–सोल्माका गङ्गाबहादुर विश्वकर्माले बताए । “प्रबन्धक खतिवडाले खातावालाकै नाममा चेक काट्न लगाएर बैंकबाट पैसा झिक्नुहुन्थ्यो । मेरो ओडी खाता हेरेर रु तीन लाख सापटी मागेपछि दिएँ । चार÷पाँच दिनपछि फेरि बैंकमा बोलाउनुभयो”, उनले भने, “फेरि मेरै नाममा काटेको रु तीन लाखको चेक लैजानुभयो । नदिउँ भने बैंकको हाकिम, कसरी नदिनु ? सबै लोनको काम गर्दिरहेको छ । त्यो विश्वासले गर्दा आफ्नै नाममा चेक काटेर दिएँ । अहिले आएर फसेँ ।”

प्रबन्धक खतिवडा सम्पर्कविहीन भएपछि कोठा, घर र प्रभु बैंकको प्रदेश कार्यालय, विराटनगरसम्म पुगेर कुरा राखेको विश्वकर्मा बताएका छन् । उनले चिनजानका व्यक्तिबाट रु एक करोडभन्दा बढीको हाराहारीमा पैसा सापटी लिएको अनुमान गरिएको पीडितहरुले बताएका छन् ।

प्रबन्धक खतिवडाले सोही बैंकको कार्यालय रहेको घरका घरधनी इन्द्रकुमार श्रेष्ठ र उनका छोरा उद्धव श्रेष्ठको रु दुई ८७ हजार सापटी लिएर फिर्ता नगरेको इन्द्रकुमारका जेठा छोरा ध्रुव श्रेष्ठले बताए । “प्रबन्धक खतिवडाले हाम्रो परिवारबाट त्यसअघि पनि पटक–पटक सापटी पैसा चलाउनुहुन्थ्यो । बैंकका प्रबन्धकले भनेपछि दिनैप¥यो । उहाँ आफ्नै जिल्लाका स्थानीय बासिन्दा पनि हुनुहुन्छ”, उनले भने, “बैंककै प्रबन्धकले यस्तो गर्नुहुन्छ भन्ने लाग्दैनथ्यो । अहिले धेरैको पैसा चलाएर फिर्ता नगरी सम्पर्कविहीन भएको सुन्नमा आएको छ ।”

प्रबन्धक खतिवडाले व्यापारीदेखि आफ्नै सहकर्मी तथा आफन्तसँग पनि पैसा सापटी लिएको बताइएको छ । प्रबन्धक खतिवडालाई सम्पर्क गर्दा उनको मोबाइल नम्बर अफ छ । उनले बैंकको रकम भने छोएका छैनन् । शाखा प्रबन्धक खतिवडा सम्पर्कविहीन भएको केही समयपछि प्रभु बैंकले सो स्थानमा दीपक खत्रीलाई पठाएको छ ।

यद्यपि, खतिवडा सम्पर्कविहीन भएको विषयमा प्रभु बैंकको आधिकारिक धारणा आएको छैन । प्रबन्धक खतिवडाबाट पीडित भएका स्थानीय बासिन्दाहरु सापटी पैसा फिर्ताका लागि प्रहरीलाई गुहार्न लागि परेका छन् । पैसा सापटी लिएको विषयमा पीडितको उजुरी वा कुनै गुनासो नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए ।