२८चैत्र, मङ्गलबारे । ‘पर्यटनका लागि साहित्य’ नाराका साथ सञ्चालन भएको इलाम साहित्य महोत्सव सम्पन्न भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्र आयोजनामा महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा साहित्यको अवस्था, नयाँ पुस्ताको झुकाव तथा साहित्यसँगै जोडिएका विषयवस्तुबारे विश्लेषण गरिएको थियो । महोत्सवको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलको ‘अङ्क, अर्थ र आध्यात्म’ विषयमा प्रस्तुति रहेको थियो ।
यस्तै नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल, नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे र लेखक खगेन्द्र सङ्ग्रौलाबीच ‘राजनीतिमा एजेण्डा कि अनुहार’ विषयमा राजनीतिक बहस भएको थियो । युवराज अधिकारी, विश्वविमोहन श्रेष्ठ र सविता गौतम दाहालबीच ‘लेखन सफल कि सार्थक’ विषयमा संवाद चलेको थियो ।
कवित्रय तीर्थ श्रेष्ठ, लीला अनमोल र भूपिन बीचमा ‘कवितामा स्थानीय चेत’का विषयमा संवाद भएको थियो । कुमार नगरकोटीले कविता वाचन गरेका थिए । साहित्यका माध्यमबाट समेत पर्यटन विकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए। साथै साँझ विभिन्न जिल्लाबाट आएका गजलकारले गजल वाचन गरेका थिए ।
महोत्सवमा क्यानभास क्लेवरा कार्यक्रम राखिएको थियो । यसमा इलामस्थित चियाबारीमा चित्रकारले लोपोन्मुख रेडपान्डाको चित्रकला बनाएका थिए । रेडपान्डाको संरक्षणबारे चेतना जगाउन चित्रकला प्रदर्शन गरिएको थियो ।
ढुङ्गा प्रचारका लागि माङमालुङ महोत्सव
इलामको माङसेबुङ गाउँपालिकास्थित माङमालुङमा बढेमानको ढुङ्गा रहेको छ । यसलाई औँलाले हल्लाउन सकिन्छ । सो ढुङ्गा तथा यस क्षेत्रका पर्यटकीयस्थल र कृषि क्षेत्रको प्रवद्र्धनका लागि यहाँ माङमालुङ कृषि तथा पर्यटन महोत्सव आयोजना गरिएको छ ।
ढुङ्गाको छुट्टै आकर्षण छ । यसलाई चक्रशिला भन्ने गरिएको छ । गोही आकारको ढुङ्गामाथि अडिएर रहेको सो ढुङ्गालाई औँलाले सजिलै हल्लाउन सकिन्छ । तर वरपर भने सार्न सकिँदैन । महोत्सव आयोजक समितिका सचिव कमल कार्कीका अनुसार आगामी वैशाख १ र २ गते महोत्सव हुँदै छ । महोत्सवमा स्थानीय कृषि उपज तथा सामग्री बिक्री–वितरण गरिनेछ ।
स्थानीयस्तरमा उत्पादन भएका वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउनका लागि महोत्सवबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ । एक लाख ५० हजारभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुति रहने समितिका अध्यक्ष किरणकुमार राईले जानकारी दिए।