रोजगारी

वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा बाख्रापालन

३१ बैशाख, काठमाडौँ । रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका–६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लागेका छन् ।

विगतमा वर्षौंदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको बरुवाल परिवार अहिले भने नविनतम शैली र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रापालनमा लागेको हो ।

उमेरले ३० वर्ष पुगेका बरुवालले ५ वर्षभन्दा बढी समय कतार एयरपोर्टमा काम गरे । त्यहाँ उनको राम्रै आम्दानी थियो भने जागिरलाई निरन्तरता दिन पनि समस्या थिएन ।

यता घरमा परम्परागत खेती किसानी गर्दै आएका उनका बुवा धनबहादुर बरुवाल आधुनिक शैलीमा बाख्रापालन गर्न चाहन्थे । उनको चाहनामा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआपी) सहयोगी बन्न पुग्यो ।

नेपालको पशुपालनको क्षेत्रको आधुनिकीकरण र सुदृढीकरण गर्न कृषि तथा पशुपक्षी मन्त्रालयले विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाअन्तर्गत उनको होलिडे कृषि तथा पशुपक्षी फर्ममा आधुनिक बाख्रापालनका लागि विभिन्न पूर्वाधार विकासका काम भइसकेका छन् ।

आयोजनासँगको सम्झौताअनुसार उनले व्यवस्थित खोर निर्माण, उन्नत जातको (भूइँ र डाले घाँस) लगाउने, उन्नत नश्लको पाठपाठी उत्पादनका साथै व्यवस्थित बाख्रापालनका लागि पूर्वाधार तयार गर्ने काम गरिसकेका छन् ।

लक्षित कामका लागि निर्धारित कूल ३८ लाख ७२ हजार ३०३ रुपैयाँ लागतमध्ये आयोजनाबाट ५० प्रतिशत अनुदानबापत १९ लाख २८ हजार ६५२, प्रभू बैंकको ऋण लगानी ११ लाख ७० हजार र स्वलगानी ७ लाख ७३ हजार ६५२ रहेको धनबहादुर बरुवालले जानकारी दिए ।

सम्झौताअनुसार अनुदानबापत पहिलो किस्ताको रकम प्राप्त भइसकेको र दोस्रो तथा अन्तिम किस्ताका लागि प्रक्रिया बढाइएको उनले बताए । आफूले आधुनिक शैलीमा बाख्रापालन गर्न थालेसँगै विदेशमा बसेको छोरा समेत फर्केर सहयोग गर्न थालेपछि धनबहादुरको उत्साह अझै थपिएको छ । आधुनिक बाख्रापालनका लागि एनएलएसआईपीको अनुदान थप प्रेरक बनेको उनको भनाइ छ ।

खोरमा मात्रै २९ लाख खर्च भइसकेको र करीब १८–१९ लाख बाख्रा खरिद एवं सोलार जडान आदिमा खर्च भएको उनले जानकारी दिए । बरुवाललाई छोरा नारायण, श्रीमती सोमित्राले नियमित सहयोग गर्दै आएका छन् भने १ जनाले नियमितरूपमा प्रत्यक्ष रोजगारी पाएका छन् ।

विदेशबाट फर्किएर बाख्रापालनमा लाग्दा नारायणका अघि विभिन्न प्रश्न पनि तेर्सिने गरेका छन् । दैनिक न्यूनतम एक जनाले किन विदेशको राम्रो जागिर छाडेर यस्तोमा लागेको भनेर प्रश्न गर्ने गरेको उनले जानकारी दिए ।

स्वदेशमा नै केही गर्न सकिन्छ कि भनेर विदेशको जागिर छाडेर फर्किएको अनुभव सुनाउँदै उनले जागिरको खोजीमा विदेशिएका युवाका लागि यहाँ नै केही गर्न सकिन्छ भन्ने उदाहरण बन्न चाहेको बताए ।