समाचार

जिसस स्याङ्जाको गाडी दुर्घटनामा चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते

२५ जेठ, वालिङ । जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपियो गाडी दुर्घटना भएको छ । गाडी दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

अर्जुनचौपारी गाउँपालिका ३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ ४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।

स्याङ्जाको सिरुवारीबाट स्याङ्जा सदरमुकामतर्फ फर्कंदै गरेको बा १ झ ५८७८ नम्बरको गाडीमा सवार अन्य तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परी जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका छन् ।

गाडी सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी खनालले बताए ।