समाचार

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूको सवाल–जवाफ

१ असार, काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको आजको बैठकमा पनि बोलाइएको छ ।

बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । हाल कायममुकायम प्रधानन्यायाधीश रहेका कार्कीले कार्ययोजनामा संविधान, कानुन र न्यायका सिद्धान्तबमोजिम निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नु प्रमुख जिम्मेवारी रहेको बताएका थिए ।

कामु प्रधानन्यायाधीश कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्बाट नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस भएका थिए । कामु प्रधानन्यायाधीस कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।

आजको बैठकमा प्रस्तावित प्रधानन्यायाधीशसँग समिति सदस्यहरूले सवाल जवाफ गर्नेछन् । बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।

कार्कीमाथि परेका उजुरी र उनले पेस गरेका कार्य योजनाबारे सवाल जवाफपछि कार्कीको नाम अनुमोदन गर्ने तयारी छ ।